पुस ४ गतेभित्रै केही हुन्छ : उपसभामुख

सोमबार, ३० मंसिर २०७६

 

काठमाडौं । संसदको अधिवेशन पुस ४ गते अर्थात आउँदो शुक्रबारदेखि हुँदैछ । यसबीचमा सत्तारुढ नेकपाले नै सभामुख पद लिने हो भने सोही पार्टीबाट उपसभामुख भएकी डा शिवमाया तुम्बाहाम्फेले पनि राजीनामा दिनुपर्ने हुन्छ । तर, बाह्रखरीसँग सोमबार भएको कुराकानीमा उनले भावी सभामुखको विषयमा केहि पहल नभएको बताइन् ।

उनले भनिन्,‘‘मलाई कसैले केहीपनि भनेको छैन र केही पनि थाहा छैन ।’’ मिडियामा तपाईंले राजीनामा दिने कुरा पनि आइरहेको छ कहिले हो राजीनामा दिने रु भन्ने प्रश्‍नको जवाफमा उनले भनिन्, ‘‘राजीनामा दिनुपर्छ भनेको मार्ग प्रशस्त गर्नका लागि दिनुपर्छ भने दिन्छु भनेकी हुँ । तर, मिडियामा के(के आउँछ मैले पढ्नै छोडें । पढ्न पनि जान्दिन अहिले त ।’’

तपाईंले राजीनामा दिनुभएपछि सभामुख त दलका उपनेता सुवास नेम्वाङ्ग बन्ने चर्चा भइरहेको छ नि भन्ने जिज्ञासामा उनले भनिन्,‘‘मलाई उहाँले केही भन्नु भएको छैन । म अगाडि बढ्छु पनि भन्नु भएको छैन ।’’

यहाँले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली वा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नु भयो कि भन्ने प्रश्नमा पनि उनले आफ्नो भेट नभएको दाबी गरिन् ।

संसदको अधिवेशन आउन लागेकोले कहिले अघि बढ्छ त सभामुख चयन प्रक्रिया भन्ने जिज्ञासामा उनको संक्षिप्त भनाई थियो,‘‘पख्नूस् न आज भर्खर मंसिर ३० गते भयो । पुस ४ गते आउन अझै बाँकी छ । म अब भटाभट कामअघि बढाइदिन्छु । त्यसपछि ४ गते भित्रै केही न केही हुनेछ ।’’

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारको सिफारिसमा आउँदो पुस ४ गते संसदको अधिवेशन डाकिएको हो । उपसभामुख र सभामुख एकै पार्टीको हुन नहुने संवैधानिक प्रावधान भएको र उपसभामुखले राजीनामा नदिँदा सत्तारुढ नेकपाले सभामुख पद छोड्नुपर्ने अवस्था रहेको छ । प्रतिनिधिसभा नियमावलीमा संसद बैठकको आरम्भ र स्थगनको घोषणा सभामुखले गर्ने व्यवस्था छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन काण्डमा मुछिएर सभामुखबाट राजीनामा दिएपछि सो पद खाली रहँदै आएको छ ।