नाम र राजधानी टुंगो लगाउन आज मतदान हुँदै

आइतबार, २७ पौस २०७६

काठमाडौं– प्रदेश ३ को नाम र स्थायी राजधानी टुंगो लगाउन आज प्रदेश ३ को प्रदेशसभामा मतदान हुने भएको छ । बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने प्रदेशसभाको कार्यसूची रेहेको छ ।

१३ पुसमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो । नेकपाकै कतिपय प्रदेश सांसदहरुले यो निर्देशन संघीयताको मर्म र संविधानको भावनाविपरीत भएको भन्दै मतदानको क्रममा त्यसलाई नमान्ने बताएका थिए ।

विवादकाबीच शुक्रबार बसेको नेकपा प्रदेश ३ को संसदीय दलको बैठकले प्रदेश ३ को नाम र राजधानीबारेको केन्द्रको निर्देशनलाई अनुमोदन गरेको थियो । प्रदेशसभा बैठक सुरु हुनु अगावै मुख्यमन्त्री एवं नेकपा प्रदेश ३ का संसदीय दलका नेता डोरमणि पौडेलले केन्द्रकै निर्णय अनुमोदन गर्ने गरी निर्णय गराएका हुन् ।

प्रदेशसभाका ५ दलका १ सय ५ जना सदस्य स्थायी राजधानी हेटौंडा र नाम वाग्मती राख्न सहमत भएपछि मतदानको कार्यसूची तय भएको प्रदेश सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । संविधानअनुसार प्रदेशको नाम र राजधानी प्रदेशसभाको कुल संख्या १ सय १० मध्यको दुई तिहाइ अर्थात् ७४ मतले टुंगो लगाउन सक्नेछ ।

प्रदेशको स्थायी राजधानीका लागि २ वटा नाम प्रदेशसभामा दर्ता भएका छन् । हेटौंडा स्थायी राजधानी राख्न नेकपा प्रदेश ३ संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक थिए भने कांग्रेस नेता बानियाँ, राप्रपाकी माझी र राप्रपा संयुक्तकी गुरुङले त्यसलाई समर्थन गरेका थिए ।

स्थायी राजधानीबारे भने विवेकशील पार्टीको फरक मत छ । विवेकशीलका रमेश पौडेलले काभ्रेको धुलिखेल राजधानी बनाइयोस् भन्दै प्रस्ताव दर्ता गरेका छन् । त्यसलाई शोभा शाक्य र विराजभक्त श्रेष्ठले समर्थन गरेका छन् ।