नेकपाका सांसदको प्रश्न : मुख्यमन्त्रीले वेश्यावृतिलाई वैधानिकता दिएर राजस्व वृद्धिका नयाँ स्रोत पत्ता लगाएछन्, केन्द्रीय सरकारको के छ धारणा ?
भदौ २८, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद विरोध खतिवडाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको यौनकर्मीबाट कर उठाउने विषयमा सरकारको धारणा माग गरेका छन्। संसद बैठकमा खतिवडाले ‘मुख्यमन्त्रीले राजस्व वृद्धिका नयाँ स्रोत पत्ता लगाएको’ भन्दै व्यंग्य गरे। गत भदौ २६ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा हुने यौन व्यवसायलाई व्यवस्थित बनाएर लैजानु पर्ने बताएका थिए।
उनले यौनकर्मीलाई परिचय पत्रको व्यवस्था गर्नु आवश्यक रहेको बताएका थिए। सांसद खतिवडाले भने त्यसलाई वेश्यावृति शब्द प्रयोग गरे। ‘वेश्यावृतिलाई वैधानिकता दिएर त्यसबाट कर उठाएर प्रदेश चलाउनुपर्छ भन्नेसम्मको सोच विकास भएछ’, खतिवडाले भने, ‘यसमा केन्द्रीय सरकारको के छ धारणा ?।’