बालुवाटार जग्गा प्रकरण : विष्णु पौडेलले किन पाए उन्मुक्ति ? यस्तो छ भित्री खेल
काठमाडौं – बालुवाटार जग्गा प्रकरणमा मुछिएका मुख्य व्यक्ति नेकपाका महासचिव विष्णु पौडेलले उन्मुक्ति पाएका छन् । पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको टोलीले अनुसन्धान अघि बढाएदेखि नै उनको नाम यो प्रकरणमा मुछिएको थियो। तर बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पौडेलका छोरा अर्थात् जग्गाधनी नवीन पौडेलको नाम परेन ।
पौडेलले आफूले नवलपरासीको जग्गा बेचेर त्यहाँ किनेको दाबी गर्दै आएका थिए। पौडेलले छोरा नवीनको नाममा जग्गा पास गराएका थिए।
अख्तियारले पौडेलले लिएको जग्गाको विषयमा यस्तो प्रष्टीकरण दिएको छ ‘ललिता निवास क्याम्पभित्र पर्ने सरकारी जग्गा आफ्नो नाममा कायम रहेका हालका जग्गाधनीहरुमध्येका कुमार रेग्मी र नवीन पौडेलउपर समेत जग्गा जफतको मागदाबी गर्नुपर्नेमा निजहरुले आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान तथा आयोग समक्ष पेश गरेको निवेदनमा काठमाडौं बालुवाटारस्थित ललिता निवास क्याम्पभित्र आफ्नो नाममा कायम रहेका जग्गाहरु नेपाल सरकारलाई छाडिदिन मञ्जुर गरेकाले जग्गा जफतको मागदावी लिनका लागि प्रतिवादी बनाउन आवश्यक नदेखिँदा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५५ बमोजिम हाल निज कुमार रेग्मी र नवी पौडेलको हकमा जग्गा जफतको मागदावी नलिने।’