नेकपाका जिल्ला नेताको मृत्यु, ४ जना नियन्त्रणमा
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्लाका नेता हरिदेव गिरीको शंकास्पद मृत्यु भएको छ । नयाँबानेश्वरको आलोकनगरमा मंगलबार राति उनको शंकास्पद मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीका अनुसार डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएपछि उपचारका लागि लगिएको थियो ।राति १० बजेतिर सिभिल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेको डीएसपी रेग्मीले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको पनि बताए ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी पनि घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराखिएको बताउँछन् । उनले प्रकरणको अनुसन्धानका क्रममा ४ जनालाई नियन्त्रणमा लिइएको बताए । ‘त्यसबेला त्यहाँ उपस्थित होटल सञ्चालक र कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिएका हौं’, बोगटीले भने, ‘बानेश्वर वृत्तमा राखेर अनुसन्धान जारी छ ।’
उनका अनुसार गिरीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ । प्रारम्भिक अनुसन्धानमा उनको टाउको, घाँटी र तीघ्रामा चोट देखिएको छ भने खुट्टाको हड्डी पनि भाँच्चिएको देखिएको बोगटीको भनाइ छ ।
गिरी निकटस्थका अनुसार उनी मंगलबार बिहान ९ बजेदेखि नै उक्त होटलमा बसेका थिए । दिनभर मदिरा सेवन गरेका कारण उनी राति घर फर्किन सक्ने अवस्थामा पनि नरहेको निकट स्रोतले बतायो । गिरि दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, रेन्बो स्कुलका संस्थापक तथा प्याब्सन भक्तपुरको सल्लाहकारसमेत थिए ।