नेपाली सेनाले देशैभर अस्पताल सञ्चालनमा ल्याउने

शुक्रबार, २४ माघ २०७६

काठमाडौं–नेपाली सेनाले देशका विभिन्न स्थानमा अस्पताल सञ्चालनमा ल्याउने भएको छ ।

हाल काठमाडौं र नेपालगन्जमा सैनिक अस्पताल सञ्चालनमा छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले गण्डकी प्रदेशको पोखरा र प्रदेश १ को इटहरीमा सेनाले निर्माण गरेको क्षेत्रीय अस्पताल ९ फागुनदेखि सञ्चालनमा आउने जानकारी दिएका छन् ।

तेघरी ब्यारेक कैलालीमा बिहीबार आयोजित सुदूरपश्चिम क्षेत्रका पूर्वसैनिकहरूको सम्मेलनमा थापाले प्रदेश २ को बर्दिवासमा क्षेत्रीय अस्पताल निर्माण सुरु भइसकेको बताए । देशका सातै प्रदेशमा सैनिक अस्पताल सञ्चालनमा ल्याउने सेनाको तयारी छ ।

प्रधानसेनापति थापाले सैनिक कल्याणकारी कोषबाट सञ्चालित कार्यक्रमबारे भूपू सैनिक र परिवारलाई जानकारी दिएका थिए । कोषमा हाल करिब ४१ अर्ब रुपैयाँ रहेको र यसबाट आठ लाख भूतपूर्व सैनिकलाई लक्षित गरी शिक्षा, स्वास्थ्य, स्वरोजगारका कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ थियो ।

भूपू सैनिक र परिवारको उपचारका लागि सैनिक अस्पतालबाहेक देशभरिका ४४ अस्पतालसँग अलग्गै समन्वय भएको उनले बताए । उक्त समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।