सफल हुन चाहनुहुन्छ ? असफलताको संख्या दोब्बर बनाउँनुहोस्
काठमाडौं – असफलता नै सफलताको बाटो हो । टम वाट्सन सिनियर भन्छन्, ‘यदि तपाई सफल हुन चाहनुहुन्छ भने असफलताको संख्यालाई दोब्बर बनाउनुहोस् ।
प्रत्येक सफलताका पछाडी ठूलो असफलता रहेको कुरो हामी इतिहासमा पाउँछौं । तर मान्छेहरु असफलतालाई देख्दैनन् । उनीहरु मात्रै अन्तिम परिणाम देखेर सफल ब्यक्ति भाग्यमानी भएको ठानी यस्तो सोच्छन् । ‘उ पक्कै पनि ठीक समयमा ठीक ठाउँमा थियो होला ।’
म तपाईलाई एउटा प्रसिद्ध जीवन कथा सुनाउँछु । यो एउटा व्यक्तिको कथा हो । उनले २१ बर्षको उमेरमा व्यपारमा घाटा खाए । २२ बर्षको उमेरमा संसदिय चुनाव हारे । २४ बर्षमा फेरी व्यापारमा असफल भए । २६ बर्षमा आफ्नी श्रीमती गुमाए । ४५ बर्षमा उपराष्ट्रपतिको चुनाव हारे । ४९ बर्षमा संसदिय चुनावमा फेरी हारे । आखिर ५२ बर्षको उमेरमा अमेरिकाको राष्ट्रपतिमा विजयी भए । उनी थिए अब्राहम लिङ्कन ।
के तपाई लिङ्कनलाई असफल भन्नुहुन्छ ? उनी लाजले मुख छोपी संघर्ष त्यागेर वकालतमा फर्किन सक्थे । तर लिङ्कनका लागि हार एकक्षणको बाधा मात्र थियो, कुनै अन्त्य थिएन ।
सन १९१३ मा ट्रायोड ट्युबका आविष्कारक लि.डे फरस्टेलाई जिल्ला न्यायधिवक्ताले एटलान्टिक महासागरको एक किनारबाट अर्को किनारसम्म मानिसको बोली पुर्याउँछु भनेर झूठो दावि गरेर आफ्नो कम्पनीको शेयर किन्न मान्छेहरुलाई बाध्य पारेको भन्ने आरोप लगाए । समाजमा उनको वेइज्जत भयो । उनले त्यो आविष्कारबिना अहिले हामी कहाँ हुन्थ्यौं । एक चोटी सोच्नुहोस् त ?
सन १९०३ डिसेम्बर १० मा न्यूयोर्क टाइम्स पत्रिकाले हावाभन्दा गह्र्रो बस्तुलाई आकाशमा उडाउन सक्छौं भन्ने राइट दाजुभाइको तर्क माथि प्रश्न उठाएको थियो । त्यसको एक हप्ता पछि टिकिहक भन्ने ठाउँमा राइट दाजुभाइले प्रख्यात उडान भरेर देखाए ।
यी त केही प्रतिनिधि उदाहारण मात्र हुन । उनीहरुले असफताकै कारण विचमै काम छोडेको भए संसारको अवस्था के हुन्थ्यो होला । तसर्थ आफ्नो काममा निरन्तर लागि राख्नपर्छ । बिचमै छोडेर जग हसाउन हुुँदैन ।