कोरोना न्युनिकरण गर्न करणले अनामनगरमा बनाए स्यानिटाईजर बुथ

मंगलबार, २७ साउन २०७७

काठमाडौं – फिल्म निर्माता, वितरक तथा कलाकार करण श्रेष्ठ ‘क्रेजी’ले अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट अगाडि सार्वजनिक स्यानिटाईजर बुथको स्थापना गरेका छन् । पछिल्लो समय देशभर कोरोनाको जोखिम बढेको भन्दै उनले अनामनगरमा अवातजावत गर्नेका सर्वसाधरणका लागि पूर्वी गेट अगाडि स्यानिटाईजर बुथको स्थापना गरेका हुन् ।

जागौं युवा अभियानका अध्यक्ष समेत रहेका श्रेष्ठको स्यानिटाईजर बुथको उद्घाटन कलाकार दीपकराज गिरी, अनामनगर प्रहरी बृत्तका डिएसपी हरिबहादुर बस्नेत, गुण सिनेमा प्रालिका सञ्चालक महेशप्रसाद किजुलगायतले मंगलबार उद्घाटन गरेका छन् ।

जागौँ युवा अभियानद्वारा करणले अनामनगरमा वृक्षारोपन, कोरोना भाइरसको जोखिम मास्क वितरण तथा जनचेतना फैल्याउने काम समेत गरिरहेका छन् । कलाकार दीपकराज गिरीले करणले झै टोलटोलमा स्यानिटाईजर बुथका स्थापना र जनचेतना कार्यक्रम आवश्यक रहेको बताए । उनले करणको कामबाट धेरै सिक्नुपर्ने धारणा समेत राखेका थिए ।

‘कोरोनाको जोखिम न्युनिकरण गर्न देशभर सार्वजनिक स्थानमा यस्तै किसिमको स्यानिटाईजर बुथका स्थापना गर्नुपर्छ’ निर्माता श्रेष्ठले भने– ‘हामीले आफ्नो निवास र कार्यस्थल र टोलटोलमा यस्ता स्यानिटाईजर बुथको स्थापना गर्न सक्यौ भने कोरोना विरुद्धको लडाई अभियानमा सहयोग पुग्छ ।’ ‘यस्ता काममा युवालाई प्रेरित गर्नुपर्छ’ उनले थपे ।