कविता : हामी ओइलाउँदै छौँ रुख विरुवा जस्तो
आकाशमा कालो बाक्लो बादल
र त्यसको प्रतिबिम्बले
अन्तरिक्ष अध्याँरो अध्याँरो
हामी त्यही
अध्यारोको प्रतिक्षामा थियौं
हामी त्यही धुम्मको प्रतिक्षामा थियौं
त्यो कालो बादलबाट
बर्षा होस
पानी परोस
पृथ्वीमा अभिषेक होस्
र त्यो अभिषेकबाट
सुक्दै गएका रुख विरुवाहरु
एकक्षणमै हरियो हरियो होस
नयाँ विरुवाहरु उम्रिउन
पातहरुमा टाँसिएका धुलाहरु
पखालेर सफा चम्किलो होस्
त्यो अभिषेकबाट
धर्तीका जीव जन्तुहरु, प्राणीहरु
र मानिसहरुमा
प्राण आओस
जीवन आओस
उमंग आओस
र रमाउन
नाच्दै
पानीमा भिज्दै
शरिरमा ताजगी स्फूर्ती आओस
त्यो अभिषेकबाट
चरा चुरुङ्गी पानीमा डुबुल्की मार्दै
आफ्ना पखेटाहरु फिजाउदै
नाच्दै फट्कारुन
त्यो अभिषेकबाट
माटो भिजेर
मलिलो र उर्वर होस
माटोको गन्ध
माटोको सुगन्ध
किसानको नाकसम्म पुगोस
नाकले लिएको सुगन्ध र त्यो वास्नाले
आखा चम्किलो होस
किसानको अनुहार
उज्यालो होस
तर
त्यो बादललाई
हुरी र वतासले उडाउन
त्यो बादललाई
हुरी वतासले छिन्न भिन्न गर्न
हुरी कस्सिएर आयो
हुरी ठूलै वेगले आयो
र त्यो हुरीले आफूसँगै
बादल मात्रै लगेन
त्यो हुरिले
हाम्रो घरको धुरीसमेत लग्यो
र हामी सूर्यको राप तापमा
रुख विरुवा जस्तै ओइलायौं !
भाद्र १, विराटनगर