कविता : घमण्डी
काठमाडौं – हावामा न बारुदको गन्ध
फैलीको छ कतै
मैदानमा न कार्तुसको
कर्कस आवाज आउँछ
कानको जाली नै थर्काउने गरी
तै पनि मान्छे मृत्युसँग
भयभीत छ अहिले पनि।
ब्रान्डेड सामान खरिद गरेर
देखाउदै लोकलार्इ
घमण्ड गर्थ्यो मान्छे सम्पतिको
तर उसलाइ के थाहा
लासलार्इ बेर्ने कात्रोको
कुनै ब्रान्ड हुदैन कहीँ कतै पनि
लाचर डरले त्रस्त आफै उ
लुकेको छ कोठा भित्र
तर उसैलाइ थाहा छैन
अदृश्य छ त्यो आउँछ जहीँ तहीँ ।
जिउदो हुदा जमिनमा रमाउछ मान्छे
मरे पछि काधमा चड्छ
बिडम्बना नै हुन सक्छ त्यो
सास हुदा पानीमा डुब्छ
सकिए पछि तैरिन्छ माथि ।
मान्छे न हो उ पनि
बाचुन्जेल गाली गलौज
पुत्ला दहन र अपमान
आफ्नै आखाले दृश्य हेर्छ
मरे पछि हजारौं मलामी
फुलमाला र अबिर लछ्याप्रै
अनि सलामी पाउछ
जुन उ कहिल्यै देख्दैन।
रंगमञ्च हो पृथ्वीलोक
मान्छे रंगकर्मी त्यसको
अभिनय देखाउछ आफ्नो
औकातले भ्याएसम्म त्यो
छलछाम ढाटछ्ल जति गरोस्
पर्दा झरेपछि दर्शकबाट
हराउछ सधैलाइ त्यो आफै ।