मुग्लिन सडकमा पहिरो, ८ घरमा क्षति

मंगलबार, ३० भाद्र २०७७

मुग्लिन – पहिरोले चितवनमा आठ घरमा क्षति पुर्‍याएको छ। अविरल वर्षासँगै गए राति खसेको पहिरोले चितवनको इच्छाकामना गाउँपालिका(६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्‍याएको हो।

पहिरोले दुईवटा मोटरसाइकल, एक एक वटा म्याजिक भ्यान र बोलेरो पनि पुरेको स्थानीयवासी चित्रबहादुर गुरुङले बताए। वडा नम्बर ६ कै राष्ट्रिय आधारभूत विद्यालय पैरेनी र शौचालयमा पनि क्षति पुगेको छ। गुरुङका अनुसार अहिले ती आठ घरका परिवार घर छाडेर सुरक्षित स्थानमा गएका छन् ।

पाँचकिलो बजार नारायणगढ– मुग्लिन सडकखण्डमा पर्दछ। सो सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका(६ चारकिलो र पाँचकिलो डाँडामा पहिरो खस्दा अहिले नारायणगढ– मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध छ। पहिरो पन्छाई सडक सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।