अनसनरत डा.केसीलाई जबरजस्ती

आइतबार, ४ असोज २०७७

काठमाडौं–अनसनरत डा.गोविन्द केसीलाई शनिबार राती जबरजस्ती अस्पतालमा भर्ना गरिएको छ । डा। केसीलाई शनिबार राती प्रहरीले जबरजस्ती उठाएर अस्पताल लगेको हो। करिब पौने एघार बजे प्रहरीले उनलाई उपचारका लागि भन्दै जबरजस्ती राती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको डा.केसीका सहयोगी स्थानीय युवा महेन्द्र कार्कीले बताए।

राती म घर गएको थिएँ । प्रहरी आएर जबरजस्ती लगेछन, उनले भने । उनका अनुसार डा.केसीको नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले शनिबार दिउँसो अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए। तर उनले अस्पताल जान मानेका थिएनन् । डा.केसी जुम्ला सदरमुकामबाट केही पर एकान्तमा रहेको बाबिरा मष्टोको मन्दिरमा विगत ७ दिनदेखि अनसनरत थिए ।

डा.केसीको मागमा समर्थन गर्दै जुम्लाका युवाहरुले दीप प्रज्वलनदेखि हस्ताक्षर कार्यक्रम गरेका छन् । डा. केसीको निगरानी गर्न चारजना चिकित्सकको टोली खटाइएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जानकारी दिए । उनकाअनुसार प्रतिष्ठानमा लगिएका केसीले स्लाइन लिन र पेसर चेकजाँच गर्न पनि मानेका छैनन् । उनको स्वास्थ्य अवस्था बिग्रदै गएको छ ।