अस्पतालको लापरबाहीका कारण आफ्नै डाक्टरको ज्यान गयो, ९३ करोड क्षतिपूर्ति माग
काठमाडौं – अस्पतालको लापरवाहीका कारण हाडजोर्नी विशेषज्ञ डा. ज्ञानेश्वरप्रसाद सिंहको मृत्यु भएपछि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एन्ड टिचिङ अस्पताललाई झट्का लागेको छ ।
आफू कार्यरत अस्पतालको लापरबाहीका कारण ज्यान गुमाएका हाडजोर्नी विशेषज्ञ सिंहको परिवारले झन्डै ९३ करोड क्षतिपूर्ति माग दबी गर्दै भैरहवास्थित मेडिकल कलेजविरुद्ध मुद्दा दायर गरेको छ। ९२ करोड ७८ लाख ७३ हजार रुपैयाँ क्षतिपूर्ति दाबीसहित अदालतमा मुद्दा दायर भएको हो ।
डा. सिंहकी पत्नी विना सिंहले कात्तिक १६ गते जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेकी हुन्। मुद्दामा अस्पताल र त्यहाँ कार्यरत तीन चिकित्सकलाई विपक्षी बनाइएको छ। डा. सिंहको उपचारमा संलग्न विश्व तुलाचन, लक्ष्मी पाठक र डा. सन्तोष शाहलाई चिकित्सकीय लापरबाही (मेडिकल नेग्लेजेन्सी) गरेको आरोप लगाइएको छ।
उपचारका क्रममा भएको लापरबाहीले श्रीमानको ज्यान गएकाले क्षतिपूर्तिबापत २५ करोड, श्रीमानले २५ वर्ष काम गर्न सक्ने भएकाले परिवार धान्न सो समयको आयआर्जनबापतको साडे १२ करोड, छोराछोरीको अध्ययन खर्चबापत ५ करोड र औषधिउपचारको २८ लाख ७३ हजार क्षतिपूर्ति माग दाबी गरिएको छ। डा. सिंहका एक छोरा र एक छोरी बंगलादेशमा एमबिबिएस अध्ययनरत छन्।
जनकपुर उपमहानगरपालिकाको पुल्चोक स्थायी घर भएका डा. सिंह १० वर्षदेखि भैरहवास्थित मेडिकल कलेजमा अर्थो विभाग प्रमुखको रुपमा कार्यरत थिए। प्राध्यापक सिंह सोही कलेजमा अध्यापनसमेत गर्थे। उपचारका क्रममा उनको गत माघमा मृत्यु भएको थियो । आजको नागरिक दैनिकमा खबर छ ।