बैतडीमा यसरी भएको रहेछ दुर्घटना, गाडी चालकले खोले दुर्घटनाको रहस्य
काठमाडौँ – बिहिबार राती भएको गाडी दुर्घटनामा परि ९ जनाको ज्यान गएको छ भने ३४ जना छाइते भएका छन । बैतडीबाट महेन्द्रनगर आउँदै गरेको ना ५ ख ५१४१ नम्बरको बस कसरी दुर्घटनामा पर्यो भनेर प्रहरी अनुसन्धान थालेको छ ।
प्रारम्भीक अनुसन्धानमा तीव्र गतिमा रहेको बेला मोडमा गाडीलाई नियन्त्रण गर्न नसकेकाले दुर्घटना भएको अनुमान प्रहरी गरेको छ । सडक दुर्घटनामा परेको बसका चालकले गाडी अनियन्त्रित भइ दुर्घटनामा परेको प्रारम्भीक बयान दिएको प्रहरीको भनाई छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी मुकेश कुमार सिंहका अनुसार बसका चालक बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्की हुन् । मोडमा गाडीको स्ट्येरिङलाई कन्ट्रोल गर्न नसक्दा दुर्घटना भएको कार्कीको भनाइ छ ।
दुर्घटनामा चालक कार्कीसमेत बेहोस भएका थिए । ‘होस खुल्दा घटनास्थलमा चित्कार मात्रै थियो,’ कार्कीले पहरीसमक्ष भनेका छन्, ‘बचाउ बचाउ भन्दै रोएको आवाज मात्र सुनेको थिएँ ।’
कार्की बसका साहु र चालक दुवै हुन् । बस दुर्घटनामा कार्कीसमेत घाइते भएको र उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको एसएसपी सिंहले बताए ।
क्षमताभन्दा बढी यात्रु बोकेको र बसका चालक निदाएकाले दुर्घटना भएको दुर्घटनामा घाइते भएका यात्रुहरुको भनाइ छ । दार्चुलाको गन्नाबाट कञ्चनपुर महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस गएराती साढे १० बजे बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा दुर्घटना भएको थियो ।
बस दुर्घटनामा मृत्यु हुनेहरुमा दार्चुला मालिकार्जुन गाउँपालिका डाँडाकोछ बस्ने जगन्नाथ ओझा, बैतडी दोगडा केदार गाउँपालिका–सित्थड बस्ने कपिन्द्र प्रसाद जोशी र सोही ठाउँकै २७ वर्षीय करन सिंह ऐडी रहेका छन् ।
यस्तै दार्चुला खरकडा बस्ने तर्कराज गिरी, कञ्चनपुर भिमदत्त न.पा. घर भएकी १५ वर्षीया कृतिका कार्की र बैतडी घर भएका कञ्चनपुरमा कार्यरत प्रहरी जवान रणबहादुर चन्दको मृत्यु भएको एसएसपी सिंहले जानकारी दिए ।
प्रहरी र स्थानीय मिलेर राती नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको छ भने मृतकको शव निकालिएको थियो । मृतकको शव पोष्टमारर्टमका लागि जिल्ला अस्पातल पठाइएको प्रहरीले जनाएको छ । उक्त बसमा ४३ जना सवार रहेको बताइएको छ ।