प्रचण्ड–ओलीको चेपुवामा बादल, आजै प्रधानमन्त्रीलाई फिर्ता बोलाउने तयारीमा प्रचण्ड समूह
काठमाडौं – नेकपा सचिवालयको बैठकको समयसँग जुधाएर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् । मन्त्रिपरिषदको बैठकसँग नेकपाका सचिवालय सदस्य तथा गृह मन्त्री रामबहादुर थापा (बादल) चेपुवामा परेका छन ।
प्रधानमन्त्री ओलीसहित यसअघि बसेको सचिवालय बैठकले आज दिउँसो १ बजे सचिवालय बैठक बस्ने निर्णय गरेको थियो । तर, पार्टीको बैठक छल्न खोजेको अर्थ लाग्ने गरी प्रधानमन्त्री ओलीले आजै १ बजे नै मन्त्रिपरिषद बैठक डाकेका छन् ।
ओली पक्ष आजको सचिवालय बैठक रोक्ने प्रयासमा छ । प्रचण्ड–माधव नेपाल पक्ष भने बैठक जसरी भए पनि बसाल्ने तयारीमा छ । मन्त्रिपरिषद बैठकको समय जुधेपछि सचिवालय बैठक के हुन्छ भन्ने अन्यौल भएको छ । सचिवालयमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, रामबहादुर थापा (बादल) र विष्णु पौडेल मन्त्रिपरिषदमा समेत छन् । बादलले यसअघि सचिवालय बैठकमा सहभागी हुने जनाएका थिए । त्यही भएर प्रधानमन्त्रीले समय जुधाएको हुनसक्ने बताइएको छ ।
नेकपाको विवाद उत्कर्षमा पुगेका बेला पर्यटनमन्त्रीसमेत रहेका नेता योगेश भट्टराईले ‘सर्वाधिक कठिन समय’ भएको बताएका छन् । उनले ट्वीटरमा सो कुरा उल्लेख गरेका हुन् ।
प्रधानमन्त्री आफ्नो कार्यशैली सच्याउन तयार नरहेको भन्दै आजको सचिवालय बैठकबाट ओलीलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाउने निर्णय गर्दै स्यायी कमिटी र केन्दीय कमिटी बैठक बोलाउने तयारी प्रचण्ड–नेपाल पक्षले गरेका छन । यो सुइको पाएका भट्टराईले सर्वाधिक कठिन समय भनेको हुनसक्छन ।