चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग

मंगलबार, ९ मंसिर २०७७

काठमाडौं– चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गरेका छन्।

कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बन्द रहेका अधिकांश क्षेत्र अहिले खुले पनि चलचित्र क्षेत्र खुल्न सकेको छैन। त्यसैले चलचित्र छायांकन पनि प्रभावित भएको र यसबाट हजारौंको संख्यामा रहेका कलाकारहरूको जीविकोपार्जनमा समस्या भएको भन्दै अध्यक्ष अधिकारीले चलचित्र क्षेत्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन्।

‘‘गीत, संगीत, स्रष्टा, सर्जक, कलाकार, प्राविधिक यी सबैको समस्या छ। यस कारणले कुनै न कुनै बाटो चाहियो भनेर हामीले धेरै ठाउँमा कुरा राखेका छौं,’’ उनले भने, ‘‘हाम्रो भनाइ, अब हामीलाई छायांकन खोलिदिनुस् हामी विश्व स्वास्थ्य संगठन, नेपाल सरकार र सीसीएमसीको मापदण्डलाई अपनाएर सिनेमा छायांकनमा जान सक्छौं भन्ने कुरा पनि लगेर हामीले बुँदागत यो(यो गर्न सक्छौं र यो क्षेत्रलाई सुरक्षित राख्न सक्छौं भनेर हामीले प्रस्तुत गरिसकेका छौं।’’