गुल्मीमा भयानक दुर्घटना, ५ जनाको मृत्यु

शुक्रबार, १२ मंसिर २०७७

गुल्मी – शुक्रबार बिहान जिप दुर्घटना हुँदा गुल्मीको इस्मामा ५ जनाको मृत्यु भएको छ । दुर्घटना अन्य ३ जना गम्भीर घाइते भएका छन् ।

लु १ ज ११६६ जिप इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गर्दा हुलामै दुर्घटना भएको हो । दुर्घटानामा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठले जानकारी दिएका हुन् ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलाकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।

दुर्घटनामा परेको जीप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । चालक र सहचालकलाई इस्मा प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिहरु उद्धारमा जुटेको इस्मा गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् ।