दुई अध्यक्षले छाड्नुभयो भने सरकार र पार्टी हामी चलाउँछौँ : उर्जामन्त्री वर्षमान पुन
काठमाडौं – सत्तारूढ नेकपामा पछिल्लो समय युवा नेतृत्वका कुरा चलिरहँदा ऊर्जामन्त्री वर्षमान पुनले दुवै अध्यक्षले पार्टी तथा सरकार छोडे दोस्रो पुस्ता नेतृत्वका लागि तयार रहेको बताएका छन् ।
आज (सोमबार) बिहान रोल्पाको लाकुरीमा ३३– ११ केभी सबस्टेशनको उद्घाटन समारोहमा बोल्दै नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री पुनले यस्तो बताएका हुन् । उनले कार्यक्रममा भनेका छन्( ‘अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू पद छोड्न तयार हुनुभयो भने हामी दोस्रो पुस्ता सरकार र पार्टी दुवै चलाउन तयार छौँ ।’
यस्तै मन्त्री पुनले नेकपाभित्रको बहसले सिंगो देशको राजनीति प्रभावित भएको बताए । ठूला विवादको निरूपण महाधिवेशनबाट र साना विवादको निरूपण केन्द्रीय कमिटीबाट गरिने उनको भनाइ छ ।
पार्टीभित्र विवाद चलिरहँदा तथा उनलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामाको दबाब आइरहँदा पछिल्लो एक अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले आफूले नेतृत्व नयाँ नेतृत्वलाई दिन चाहेको बताएका थिए । यद्यपी अन्य शीर्ष नेताहरुले भने यसबारे बहस उठाएका छैनन् ।
पछिल्लो समय अध्यक्षद्वयबीच तिक्तता बढ्दो छ । दुवैले आ–आफ्नो प्रतिवेदनमा एकअर्कामाथि आरोप–प्रत्यारोप थोपरेका छन् । दोस्रो पुस्ताका नेताहरू उनीहरूबीचको विवाद मिलाउन लागि परेपनि विवाद साम्य हुन सकिरहेको छैन ।