लगानी गर्दा ख्याल गर्न धितोपत्र बोर्डको आग्रह

सोमबार, १५ मंसिर २०७७

काठमाडौं – नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्ताहरुलाई लगानी गर्दा ख्याल गर्न आग्रह गरेको छ । बोर्डले सुसूचित भई सजगतापूर्वक लगानी गर्न आग्रह गरेको हो ।

पछिल्लो समय दोस्रो बजारको कारोबार रकम र नेप्से सूचकमा नयाँ रेकर्ड कायम गरेपछि बोर्डले लगानीकर्ताहरुलाई उक्त आग्रह गरेको हो। बोर्डले दोस्रो बजारमा कायम भएको नयाँ रेकर्ड पूँजी बजारको लागि खुशिको रहेको जनाउदै लगानीकर्ताहरुले पूँजी बजारको स्थापित मूल्य र मान्यता अनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था, ती संस्थाको आधारभुत तथा प्रविधिक पक्ष ऐन नियकको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विश्लेषण गरी लगानी गर्न आग्रह गरेको छ।

यस्तै बोर्डले मुलुकको अर्थतन्त्रको विकासमा पूँजी बजारको महत्वपूर्ण भूमिका रहने सन्दर्भमा पूँजीबजारको विकास र बिस्तार गर्दै यसको सूक्ष्म रूपमा अनुगमन तथा सुपरिवेक्षण समेत गरिरहेको जनाएको छ।

बोर्डले धितोपत्र बजारको नियमन गर्ने निकायको रुपमा लगानीकर्ताहरुलाई बजारको विविध पक्षका बारेमा समय समयमा प्रेस विज्ञप्ती, प्रकाशन, वेभसाइट तथा विभिन्न सञ्चार माध्यममार्फत समसायिक विषयमा जानकारी गराउँदै जनाएको समेत प्रष्ट पारेको छ।

बोर्डबाट गरिएका धितोपत्र बजार विकास तथा सुधारका कार्यहरुबाट धितोपत्रको प्राथमिक बजारमा ८ लाखभन्दा बढी लगानीकर्ता, डिम्याट खाताको संख्या २१ लाख ८० हजार (कुल जनसंख्याको करिव ७.२५ प्रतिशत) रहेको तथा नेप्सेको अनलाइन कारोबार प्रणालीबाट ८५ प्रतिशतभन्दा बढी कारोबार हुने गरेकाले नेपालको धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताको सहभागितामा उल्लेख्य वृद्धि भएको बोर्डले जनाएको छ।