नेकपाभित्रको गोप्य कुरा खुल्यो : पहिला निर्णय गरेर स्थायी समिति बैठक बस्दै, यस्तो छ निर्णय
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको गोप्य कुरा बाहिरिएको छ । भोली आइतबारका लागि बोलाइएको स्थायी समिति बैंठक बस्नुअघि नेताहरुले पहिलानै निर्णय गरिसकेको कुरा बाहिरिएको हो ।
नेकपाका नेता तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले स्थायी समितिको बैंठक औपचारिकताका लागि मात्र भएको बताएका छन् । उनले उक्त बैठकले गर्ने निर्णय नेताहरुले गरिसकेको बताए । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता तामाङले पार्टीमा पछिल्लो समय उठेका कतिपय विषयहरुको टुंगो स्थायी कमिटी बैठक बसी कार्यदल बनाएर लगाउने सहमति भएको खुलासा गरे ।
‘नेकपा कुनै हालतमा फुट्दैन,’ पूर्वमन्त्री समेत रहेका नेकपा नेता तामाङले भने, ‘दुवै अध्यक्षको प्रतिवेदन समायोजन गरी एउटै प्रतिवेदन बनाउन स्थायी कमिटीमार्फत् कार्यदल बनाएर अगाडि बढ्ने सहमति बनेको छ ।’ एक व्यक्ति एक पदको विषय पनि स्थायी कमिटी बैठकले टुंगो लगाउने तामाङले बताए ।
साक्षात्कारमा तामाङले अध्यक्षद्वय ओली र प्रचण्डको प्रतिवेदनको आरोप प्रत्यारोपलाई फिर्ता लिएर सकारात्मक र समिक्षात्मक विषय समावेश गरी साझा प्रतिवेदन बनाइने सहमति भएको खुलासा गरे । ओली र प्रचण्डबीचको एक्ला एक्लै वार्ताले सहमतिको बाटो खुलाएको समेत उनको भनाई थियो ।
पार्टीभित्र बहस र विवाद हुनुलाई सामान्य भन्दै समस्याको समाधान गरिने बताए । उनले भने, ‘छलफलबाट सहमति निकालिन्छ, नेकपा फुट्छ भन्ने भ्रम नपाले हुन्छ ।’ देश महामारीसँग जुधिरहेकाले सबै राजनीति दल एकजुट भएर समाधानमा जानुपर्ने बताए । देशमा भ्रष्टाचार भएको भए छानविन गर्न विपक्षी दलले पनि सहजीकरण गर्नुपर्ने बताए ।