पर्वतमा बन्ने भयो विश्वकै दोस्रो लामो जिपलाइन
पर्वत – साहसिक खेलका तीव्र विकास भइरहेको पर्वत जिल्लामा विश्वकै दोस्रो लामो जिपलाइन बन्ने भएको छ।
विश्वकै दोस्रो अग्लो दाबी गरिएको बन्जी जम्प रहेको नजिकै कुस्मा नगरपालिका–५ चाक्लेको डिलबाट साउने बगरसम्म १४ सय मिटर लम्बाइको जिपलाइन निर्माण गर्न लागिएको हो।
यो जिपलाइन सुपर म्यान शैलीमा निर्माण गर्न लागिएको भारतीय निर्माण कम्पनी श्याम जिपलाइनका इन्जिनियर नवीन मेस्सीले बताए।
‘यहाँको जिपलाई सुपर म्यान शैलीको बनाउन लागिएको छ। क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपर म्यानमा सुपर म्यान जस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ।’ उनले भने, ‘यहाँबाट नजिकको जिपलाइन पोखरामा रहेको छ। त्यहाँको जिपलाइन क्लासिक हो जसको लम्बाई १८ सय मिटर छ।’
क्लासिक जिपलाइनमा पोखराको जिपलाइनको लम्बाई कुस्मामा बन्दै गरेको हार्नेस जिपलाइन प्रा।लि।को भन्दा बढी हुने भए पनि सुपर म्यान शैलीमा पर्वतको जिपलाइन विश्वकै दोस्रो लामो बन्ने भएको हो। सुपर म्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिपलाइन दुबईमा रहेको छ। जसको निर्माण अमेरिकी कम्पनीले गरेको थियो।
इन्जिनियर मेस्सीका अनुसार पर्वतको जिपलाइनमा एकै पटकमा दुई जना सँगै झुन्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ। हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जिपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा एक सय ३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने उनको भनाई छ। कालीगण्डकी नदीको सतहबाट दुई सय ३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको ल्यान्डिङ कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ।
जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्नेछ। खेलका क्रममा खेलाडी जोखिममा परेर उद्धार गर्नुपर्ने भएमा एक मिनेटभित्रमा उद्धार गरिने इन्जिनियर मेस्सीले बताए।
‘खेलाडीलाई उद्धार गर्नुपर्ने भएमा एक मिनेटभित्रैमा रेस्क्यु गर्न सकिन्छ। त्यसका लागि आवश्यक तयारीको योजना बनाएका छौँ।’ उनले भने, ‘यो जिपलाइनमा भारतमा बनेको घिर्नीको प्रयोग नगरी क्यानडामा बनेको प्रयोग हुँदै छ।’ उनका अनुसार अबको पाँच महिना भित्रमा निर्माण कार्य पूरा हुने छ।