प्रधानमन्त्री ओलीलाई काँग्रेस सभापति देउवाले दिए धोका

आइतबार, २८ मंसिर २०७७

काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धोका दिएका छन् । आइतबार बोलाइएको संवैधानिक परिषद्को बैठकमा सहभागि नहुने भएर देउवाले ओलीलाई धोका दिएका हुन ।

देउवाले पार्टीको देशव्यापी विरोध प्रदर्शनलाई कारण देखाउँदै बैठकमा आउन अनुकूल नहुने प्रधानमन्त्रीलाई जानकारी दिएका हुन । संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार बैठक बस्न ६ सदस्यमध्ये कम्तीमा ५ जना उपस्थित हुनुपर्छ । निर्वाचन नभएका कारण उपसभामुख पद रिक्त छ । त्यसैले परिषद्का जोकोही सदस्य अनुपस्थित भए पनि बैठक बस्न सक्दैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने विपक्षी दलको नेता अनुपस्थित हुने जानकारी नभएको बताए । उनले अहिलेसम्म बैठक स्थगित नभएको जानकारी दिए ।

सरकारको सर्वसत्तावाद, दमन र बेथितिविरुद्ध भन्दै कांग्रेसले मंसिर २९ मा देशव्यापी विरोध प्रदर्शन गर्दै छ । पुल उद्घाटनको विवादलाई लिएर मंसिर १७ मा तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई स्थानीय प्रशासनले गिरफ्तार र दुर्व्यवहार गरेपछि कांग्रेसले सरकारविरुद्ध प्रदर्शनको घोषणा गरेको हो । प्रदर्शनअघि नै परिषद्को बैठकमा जाँदा सत्तासँग मिलेको सन्देश जान सक्ने बुझेर देउवालाई बैठकमा नजान पार्टीबाटै दबाब परेको थियो । नेता पौडेलले देउवालाई भेटेरै बैठकमा नजान आग्रह गरेका थिए ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्रका सेनानी श्यामलाल श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न शनिबार बोलाइएको आकस्मिक बैठकपछि परिषद् बैठकमा जाने÷नजानेबारे देउवा र पौडेलबीच केहीबेर छलफल भएको थियो । नियुक्तिको सिद्धान्त र मापदण्ड तय नभईकनै परिषद् बैठकमा गएर प्रधानमन्त्रीका खल्तीका मान्छे नियुक्ति गर्न जान नहुने तर्क पौडेलले राखेका थिए । त्यसमा पनि २९ गतेको प्रदर्शनअघि जानै नहुने अडानमा उनी अडिग थिए ।

‘परिषद् बैठकमा हस्ताक्षर गरेपछि आफ्नै निर्णय गराइहाल्छन्, प्रधानमन्त्रीलाई मनपरी ढंगले नियुक्ति गर्ने बाटो खोल्न किन जाने रु’ पौडेलले भने, ‘पहिला नियुक्तिको मापदण्ड र सिद्धान्तमा हामी अडिग हुनुपर्छ । पारदर्शी ढंगले योग्य मान्छे नियुक्ति गर्नका लागि रोस्टर बनाउनुपर्छ । यसमा विपक्षी दलको नेताले प्रधानमन्त्रीलाई दबाब दिनुपर्छ ।’

यता परिषद् बैठकमा सभामुख पनि अनुपस्थित हुने भएका छन् । परिषद् सचिवालयबाट आइतबारको बैठकका लागि पत्र आएपछि सभामुखको कार्यालयले त्यसअघि नै निर्धारित कार्यक्रमबारे जानकारी गराएको थियो । संसद् सचिवालय स्रोतका अनुसार आइतबार १४ औं संसद् सेवा दिवस परेको छ ।

त्यसैक्रममा बिहान साढे ८ बजे बस्ने गरी व्यवस्थापन समितिको बैठक यसअघि नै तय भएको संसद् सचिवालय स्रोतले बतायो । ‘त्यो कार्यक्रममा सभामुखसहित राष्ट्रिय सभाका अध्यक्षसमेत सहभागी बन्नुहुनेछ,’ स्रोतले भन्यो, ‘संवैधानिक परिषद्को सचिवालयबाट पत्र आइसकेपछि सभामुखले पूर्वनिर्धारित कार्यक्रमबारे जानकारी गराइसक्नुभएको छ ।’ स्रोतका अनुसार त्यसको सोझो अर्थ परिषद्को बैठकमा सहभागी हुन सक्दिनँ भन्ने नै हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख सदस्य हुन्छन् । शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि निर्वाचन नभएका कारण हाल उपसभामुख पद रिक्त रहेकाले परिषद्मा ५ सदस्यमात्रै छन् ।