घट्यो रियल इस्टेट कर्जा, सेयर बजार ह्वात्तै बढ्ने

आइतबार, २८ मंसिर २०७७

काठमाडौं – गत असारको तुलनामा असोजमा रियल इस्टेट (घरजग्गाको व्यावसायिक कारोबार) क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह घटेको छ ।

सरकारले जग्गाको कित्ताकाटमा बन्देज लगाएको, कोभिड–१९ को जोखिमबाट बच्न गरिएको लकडाउनले घरजग्गाको कारोबारमा सुस्तता आएकोलगायत कारण यो क्षेत्रमा प्रवाह हुने कर्जा पनि घटेको बैंकरहरू बताउँछन् ।

गत असोजसम्म बैंक तथा वित्तीय संस्थाले रियल इस्टेट क्षेत्रमा १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत असारको तुलनामा असोजमा यस्तो कर्जा करिब २ प्रतिशत घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६.८ प्रतिशत बढेको थियो । गत असारमा रियल इस्टेट क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी १ खर्ब ६३ अर्ब रुपैयाँ थियो ।

जग्गाको कित्ताकाटमा झन कडाई गरेकाले अझै कर्जा प्रबाह कम हुने बैंकिङ क्षेत्रका जानकार बताउँछन । जग्गाको कित्ताकाट नखुले जग्गामा गर्ने लगानी फेरी पनि सेयर बजारमा आउने र बजारले अर्को उचाँई समत्ने विश्लेषण गरिएको छ ।

विविध कारणले बढेको बजार घर जग्गा किनबेच वा कित्ताकाट रोकिने विक्तिकै फेरी बढ्ने सेयर बजारका जानकारहरु बताउँछन् । सेयर बजार र घर जग्गा अन्तरसम्बन्धीत छन् । सेयर बजारमा कमाएको पैसा जग्गामा लगानी गर्ने भएर होला यसले बजारलाई प्रभावित गर्ने गरेको छ ।