सिनेमा हल खोल्न सरकारले नदिने भएपछि हल सञ्चालकहरूले जबरजस्ती सिनेमा घर खोल्ने घोषणा
काठमाडौैं – नेपालमा कोरोना भाइरसको महामारीसँगै गत फागुनको अन्तिम साताबाट सरकारले सिनेमा हल बन्द गराएको थियो । यो ९ महिनामा अहिलेसम्म सिनेमा हल खुलेको छैन । पुसबाट मठ मन्दिर, रंगशालालगायतका स्थान खुल्ने तर सिनेमा हल खुल्न सरकारले नदिने भएपछि हल सञ्चालकहरूले जबरजस्ती सिनेमा घर खोल्ने घोषणा गरेका छन् ।
हल सञ्चालक तथा वितरकहरूको संस्था नेपाल चलचित्र संघका पदाधिकारीहरू सोमबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्दै आफूहरूले आगामी १० पुसबाट सिनेमा हल खोल्ने घोषणा गरेका छन् । नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानले सिनेमा हल खोल्नका लागि आफूहरूले सरकारसँग पटकपटक राखेको मागको सुनुवाइ नभएपछि जबरजस्ती हल खोल्ने घोषणा गरेको बताए ।