प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा प्रचण्ड, आजै दर्ता हुने
काठमाडौं – प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीपरिषदको नक्कली निर्णय पेश गर्दै अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झन चुलिएको छ । संबैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर परिषदमा बहुमत सदस्य उपस्थित भए हुने व्यवस्था गर्दै अध्यादेश ल्याएपछि नेकपाका नेताहरु आक्रोशित भएका छन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड) अध्यादेश तत्काल फिर्ता लिने प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । उनले गरेको आग्रह नमाने आजै नेकपा संसदिय दलको कार्यलयमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ । त्यसका लागि नेकपाका एक स्थायी समिति सदस्यलाई तयारी अबस्थामा राखिएको प्रचण्ड निकट स्रोेतको भनाई छ ।
नेकपा संसदिय दलका प्रमुख सचेतक देव गुरुङलाई पनि यस विषयमा प्रचण्डले जानकारी दिइसकेको बुझिएको छ । ‘आजै अध्यादेश फिर्ता नभए हामी एक्सनमा जान्छौ’, बरिष्ठ नेता माधव नेपाल पक्षका एक स्थायी समिति सदस्यले भने, ‘अबको एक्सनपछि कसैले सरी भन्न पनि पाउने छैन् ।’
यता प्रधानमन्त्री ओलीले नेकपा संसदिय दलका प्रमुख सचेतक देव गुरुङको राजीनामा यस अघिनै मागिसकेका छन् । २८ मंसिरमा बसेको स्थायी कमिटीको बैठकलगतै नेकपा संसदीय दलका नेता समेत रहेका ओलीले प्रमुख सचेतक गुरुङलाई बोलाएर राजीनामा मागेका थिए । ‘स्थायी कमिटी बैठक लगतै प्रधानमन्त्रीले बोलाउनु भयो र तपाईंले प्रमुख सचेतकबाट राजीनामा दिनुस्’ बालुवाटार निकट स्रोतले भन्यो ।
जवाफमा गुरुङले यो पार्टीको निर्णय त होइन, मैले किन राजीनामा दिने भनेर प्रतिप्रश्न गरेका थिए । ओलीले भने दलको नेता (आफू)विरुद्ध गतिविधि गर्दै हिँडेकाले राजीनामा मागेको बताएका छन् ।
गुरुङले भने पार्टीभित्र बहस र छलफल भएको विषयमा आफूले पनि धारणा राख्नु स्वाभाविक भएको भन्दै राजीनामा दिन आवश्यक नदेखेको जवाफ दिएका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सोमबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर गुरुङलाई प्रमुख सचेतकबाट हटाउन लागेको जानकारी दिएका छन् । तर प्रचण्डले त्यसको प्रतिवाद गरेका छन् ।
पार्टीमा छलफल गर्नुको साटो संवैधानिक परिषद्को बैठक बोलाउने, गुरुङलाई हटाउने जस्ता प्रयास गरेको उनले उनले असन्तुष्टि जनाएको नेकपा स्रोतले जनाएको छ ।