नेकपा स्थायी कमिटी बैठक, फिर्ता होला त अध्यादेश ?

बुधबार, १ पौस २०७७

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज दिउँसो प्रधानमन्त्र निवास बालुवाटारमा बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा पार्टी विवादबारे छलफल गर्ने तयारी छ । गएको मंसिर २१ मा बैठक सुरु गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उद्घाटन मन्तव्य र अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको दुई पन्ने पत्र पढेर सुनाएपछि एक साता स्थगित भएको थियो ।

पार्टीमा विवाद चलिरहेका बेला सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नयाँ विवाद थपिएको छ । कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले अध्यादेश फिर्ता लिनुपर्ने मत राखेका छन् ।

प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले स्थायी कमिटीमा अध्यादेश फिर्ताकको माग उठाउने सम्भावना बढी छ ।

एक स्थायी कमिटी सदस्यका अनुसार, अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिने निर्णय समेत गर्ने सम्भावना छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले यसबारे प्रष्ट धारणा राखेका छैनन् । ओली पक्षका स्थायी कमिटी सदस्यहरुमध्ये ईश्वर पोखरेलले अध्यादेशको समर्थन गरेका छन् । उनी बाहेकका नेताहरुले अध्यादेशबारे बोल्न चाहेका छैनन् ।

सरकारले गत वैशाख ८ मा पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो। त्यसबेला पनि विरोध भएपछि तीन दिनमै अध्यादेश फिर्ता भएको थियो । आजका लागि बोलाइएको स्थायी कमिटी बैठकलाई आम चासोका साथ हेरिएको छ।