संसद विघटनको प्रभाव सेयर बजारमा, ह्वात्तै घट्यो बजार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सेयर बजारमा ठूलो पहिरो गएको छ ।
बजार ९६.८८ अंकले तल झरेको छ । बजार केहीबेर सम्हालिन खोजे पनि उतारचढाव देखिएको छ । दिउँसो केही समय बढ्ने प्रयासमा देखिएको बजार अन्तत ४.७७ प्रतिशतले घटेको हो ।
संसद विघटन भएपछि देशमा राजनीतिक अस्थिरता आउने र यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने लगानीकर्ताको बुझाइ छ । त्यसकारण अहिले जति नाफा वा घाटाकै अवस्थामा पनि सेयर बेचेर बजारबाट निस्कन चाहने लगानीकर्ताको मनसाय देखिएकाले बजार निरन्तर ओरालो लागेको बजारका जानकारहरू बताउँछन् ।
गत हप्ताको अन्तिम दिन ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच हुँदा आइतबारबाट बजार बढ्ने अनुमान विश्लेषक तथा लगानीकर्ताको थियो । आइतबार बिहानै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर संसद विघटनको प्रस्ताव गरेपछि बजार खुल्नेबित्तिकै निरन्तर ओरालो लागेको हो । आजको बजारमा राजनीतिक अवस्थाको प्रभाव परेको विश्लेषकको भनाइ छ ।
आज बजार १९६४.६४ अंकमा आएर रोकिएको छ ।