सानेपामा बसेको सर्वदलीय बैठक सकियो, के भयो सहमति ?

सोमबार, ६ पौस २०७७

काठमाडौं – काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सर्वदलीय बैठक सकिएको छ । प्रतिनिधिसभा विघटनको विरुद्वमा रणनीति बनाउन बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीचको बैठक सकिएको हो ।

बैठकले तीन दलको केन्द्रीय कमिटी बैठकपछि थप छलफल गरेर प्रतिवादको कार्यक्रममा पुग्ने सहमति गरेको छ । बैठकमा नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल , माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएको थिए । नेता वर्षमान पुन, पम्फा भुसाल सहभागी भएका थिए ।

त्यस्तै, काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखक, जसपाका अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारी र जितेन्द्र सोनल सहभागी भएका थिए ।

नेकपाका बरिष्ठ नेता माधव नेपाल भने बैठक नसकिँदै बाहिरिएका थिए ।