मन्त्रिमण्डल विस्तार गर्दै प्रधानमन्त्री ओली, को–को बन्दैछन् मन्त्री ?
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । आन्तरिक शक्ति संघर्षका कारण सात जना मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा मन्त्रीहरुलाई नियुक्त गर्ने तयारी गरिएको हो ।
विघटित प्रतिनिधि सभाका सदस्यहरुबाट ७ जनालाई मन्त्री बनाउन लागिएको प्रधानमन्त्री निकट श्रोतको भनाई छ । ‘विघटित प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा बाहिरबाट अब मन्त्रीहरू ल्याइनेछ ।’ श्रोतले भन्यो, ‘संविधान अनुसार संघीय संसद्को सदस्य नरहेकालाई मन्त्री बनाउन सकिँदैन । तर बनाएको अवस्थामा उनीहरूले ६ महिनाभित्र संघीय संसद्को सदस्यता प्राप्त गरिसक्नुपर्नेछ ।’
तर पूर्व सांसदहरुलाई प्राथमिकता दिने बुझिएको छ । मन्त्री बन्नेहरुमा पूर्वउपप्रधानमन्त्री समेत भइसकेका टोपबहादर रायमाझी, पूर्वकानुुन मन्त्री शेरबहादर तामाङ, महेश बस्नेत, केशब बडाल रहेका छन् । उनीहरुलाई केही दिनमा नै सपथ गराउने तयारी गरिएको ओली निकट एक नेताले बताए ।
त्यस्तै, बामदेव गौतम र रामबहादुर थापा (बादल)लाई फकाउन तीन मन्त्रालय छुट्याइएको छ । गौतमले र बादलले ओलीलाई साथ दिएको खण्डमा गौतमसहित उनको पक्षका थप एक जना नेतालाई मन्त्री बनाउन ओलीले दुई मन्त्रालय छुट्याएका छन् । बादललाई फकाउन १ मन्त्रालय छुट्याएको छ ।
नयाँ बन्ने मन्त्रीहरुको मन्त्रालयपनि टुङ्गो लागेको छ । रायमाझीलाई उर्जा तथा जलश्रोत मन्त्रालय, लामाङलाई वन मन्त्रालय, बडाललाई कृषि मन्त्रालय, बस्नेतलाई श्रम मन्त्रालयको जिम्मेवारी दिने तयारी थालिएको छ ।
बालुवाटार श्रोतका अनुसार शिक्षा मन्त्रालय र पर्यटन मन्त्रालय बामदेव पक्षका लागि छुट्याइएको छ भने खानेपानी मन्त्रालय बादलका लागि छुट्याइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, वनमन्त्री शक्ति बस्नेत, संस्कृति पर्यटन तथा नागरिकमन्त्री योगेश भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगर, श्रममन्त्री रामेश्वर राय र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले केही दिन अघि राजीनामा दिएपछि ७ मन्त्रालय मन्त्री विहिन भएका थिए ।