क्रिसमसका दिन प्रभुले ५ लाख ४० हजारलाई खुशी पार्ने
काठमाडौँ – प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) आज बाँडफाँड हुने भएको छ । यसअघि नै प्रि– अलोटमेण्ट सम्पन्न भइसकेका आज बिहान ११ बजे निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा आईपीओ बाँडफाँड हुने छ ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १० लाख ८२ हजार एक सय ४३ जना आवेदकले २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको २ करोड ९२ लाख ८७ हजार ४ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ५.४२ गुणा धेरै हो ।
यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी ५ लाख ४२ हजार १ सय ४३ जनाको हात खाली हुनेछ । कम्पनीको शेयर गोलाप्रथाबाट बाँडफाँड हुने हुनाले शेयर पाउनलाई भाग्यमा भर पर्नुपर्ने देखिन्छ ।
कम्पनीले मंसिर २९ गते, सोमबारदेखि पौष २ गते बिहीबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।