प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीले शुक्रबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ।
यसअघि आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद बैठक राखेर ओलीले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए। मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेकी छन्।
प्रधानमन्त्री ओलीले आजै मन्त्रीमण्डल हेरफेर गर्ने सम्भावना रहेको बालुवाटार स्रोतले जनाएको छ। सामान्यतया मन्त्रिपरिषद् बैठक सोमबार र बिहीबार बस्दै आएको छ।