नेकपाको विवाद मिलाउन चिनियाँ कम्युनिस्ट पार्टीका नेता नेपाल आउँदै

शनिबार, ११ पौस २०७७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मिलाउन चिनियाँ कम्युनिस्ट पार्टीका एक नेता नेपाल आउने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ विवाद मिलाउन नेपाल आउने भएका हुन ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुगेको बेला हुन लागेको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका शीर्ष नेताहरुलाई भेटेर उपमन्त्री गुओको भ्रमणको बारेमा जानकारी गराएकी थिइन् ।

यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, शुक्रबार अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पूर्व सभामुख कृष्णबहादुर महारासँग भेटघाट गरेकी थिइन् । उपमन्त्रीसँगै एक प्रतिनिधि मण्डल आइतबार काठमाडौँ आउने छ । गुओ यसअघि सन् २०१८ मा पनि नेपाल आइसकेका छन् ।

गत महिना चिनियाँ रक्षामन्त्री वेई फेङ्हेले नेपाल भ्रमण गरेका थिए ।