सच्याएर भए पनि एमसीसी लागू गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री रायमाझीले ऊर्जा क्षेत्रका सम्भावनालाई केलाउँदै समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न आइतबार निर्देशन दिएका हुन् ।
‘हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौँ तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ, उनले भने, देश विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने छ समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्नुहोस्।
मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने योजना सुनाएका थिए । उनले मिलेनियन च्यालेन्ज कर्पोरेसन एमसिसी० सँग सम्बन्धित विषय नेपालको पक्षमा रहेको बताए। त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न उनले आग्रह गरेका छन्।
सिँचाइको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नुपर्ने उनले बताए। मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन्त्रालयको काम कारवाहीबारे मन्त्रीलाई जानकारी दिएका थिए।