इतिहासकै सबैभन्दा ठूलो आईपीओले पायो निष्काशन अनुमति, कति भर्ने आवेदन ?

आइतबार, १२ पौस २०७७

काठमाडौं – नेपालको आजसम्मकै सबैभन्दा ठूलो आईपीओले निष्काशन अनुमति पाएको छ । पूर्वाधार क्षेत्रमा लगानी गर्न भन्दै स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को आईपीओले निष्काशनका लागि अनुमति पाएको हो ।

२० अर्ब चुक्ता पुँजी रहेको बैंकले केही दिनमा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । अहिले यसको चुक्ता पुँजी ६० प्रतिशत अर्थात १२ अर्ब रुपैयाँमात्रै छ । बाँकी ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँ पुँजी सर्वसाधारणलाई सेयर दिएर पुर्याउनु पर्नेछ ।

यसका लागि आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त भएको छ ।

हालसम्मकै ठूलो यो आईपीओ निष्काशनको अन्तिम तयारीमा रहेको क्यापीटलले जनाएको छ । यो कम्पनीमा आईपीओ भर्ने सबैले पाउने आँकलन गरिएको छ । ५० कित्ता भन्दामाथि आबेदन भर्नेले पाउने अनुमान गरिएको छ ।