८२ प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

सोमबार, १३ पौस २०७७

काठमाडौं – नागरिक लगानी कोषले निष्कासन गर्न लागेको हकप्रद शेयर सुरक्षित गर्ने आज (पुस १३ गते, सोमबार) अन्तिम दिन रहेको छ ।

कोषले हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनार्थका लागि भोलि पौष १४ गते, मंगलबार एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज (पुस १३ गते, सोमबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कोषले पुस २८ गते मंगलबारदेखि चुक्ता पूँजीको १ः०.८२८४ अर्थात एक कित्ता शेयर बराबर शुन्य दशमलव आठ दुई आठ चारको अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ ।

उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले पुस २८ गतेदेखि माघ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड टेकु काठमाडौँ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरू, नागरिक लगानी कोषको केन्द्रीय कार्यालय तथा अन्य शाखा कार्यालयहरुह र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

कोषको उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।