संसद विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै प्रचण्ड–नेपाल पक्ष

मंगलबार, १४ पौस २०७७

काठमाडौं – सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा संसद विघटन गरेर चुनावको घोषणा गरेको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले आज मंगलवार देशभर प्रदर्शन गर्दैछ ।

केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार विभाजित नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले देशव्यापी आन्दोलन गर्न लागेको हो ।

आज बिहान ११ बजेदेखि देशभर विभिन्न ठाउँमा प्रदर्शन हुनेछ ।

राजधानी काठमाडौंका विभिन्न ठाउँमा विरोध स्वरूप जुलुस निस्कने नेकपाका नेताहरूले जनाएका छन् ।

विभिन्न ठाउँका जुलुस भृकुटीमण्डपमा पुगेर नेकपा नेताहरू प्रचण्ड, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने जनाइएको छ ।

यसअघि सोमवार नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी जसपा० ले समेत देशव्यापी प्रदर्शन गरिरहेको छ ।

नेकपाभित्र विवाद चर्किंदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए ।