कसरी भर्ने लाइसेन्सका लागि अनलाइन फारम ? यस्तो छ तरिका
काठमाण्डौ – यातायत व्यवस्था विभागले नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फारम खुला गरेको छ । लाइसेन्सका लागि पुष १४ गतेदेखि आनलाइन आवेदन खुलेको हो ।
लामो समयपछि फारम खुलेकाले आवेदन दिनेको चापले अनलाइन साइटमा समस्या देखिएको छ । यातायात व्यवस्था कार्यालयले समस्या समाधानको प्रयास भइरहेको जनाएको छ ।
अहिलेलाई दैनिक कोटा तोकेर आवेदन लिन थालिएको यातायात व्यवस्था विभागका निर्देशक एवम् सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए । उनका अनुसार अहिले मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चार पाङ्ग्रे गाडीमा ५०/५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
अनलाइन मार्फत आवेदन दिन परेकाले धेरैलाई कसरी फारम भर्ने भनेर अन्योवल छ । यही अन्योवललाई चिर्नका लागि हामीले फारम भर्ने तरिकाका बारेमा यहाँहरुलाई बुदागत रुपमा जानकारी गराउँदै छौं ।
१) सुरुमा यातायात व्यवस्था विभागको वेबसाइट www.dotm.gov.np खोल्ने । उक्त साइटको दायाँतीर रहेको ‘अनलाइन सवारी चालक अनुमति पत्र प्रणाली’ मा क्लिक गर्ने ।
२) त्यसपति सबैभन्दा माथि रहेको ‘Online Driving License Registration’मा क्लिक गर्ने र ’सिटीजनसिप’मा नेपाल छानेर New license मा अप्लाई गरि प्रोसिड गर्ने ।
३) त्यहाँ खुल्ने फारम भर्ने र सबै विवरणभरि ‘‘submit’ मा क्लिक गर्ने । (त्यहाँ भएका ‘category ’ र ‘mobile number ’ भर्नै पर्छ, एक पटक लेखेपछि मिलाउन पनि मिल्दैन ।)
४) अनलाइनमा फारम भरेर विभागको सिस्टमले एक्सेप्ट गरेपछि आवेदकले भरिएको पेपर प्रिन्ट गरी आफूसँग राख्नुपर्छ । तोकिएको समयमा आवेदक फारमसहित बायोमेट्रिक दिनका लागि सम्बन्धित यातायात कार्यालयमा पुग्नुपर्छ । बायोमेट्रिक दिनबारे वेबसाइटमै उल्लेख छ । बायोमेट्रिकमा आवेदकको फोटो खिच्ने, औंठाको छाप लिनेलगायतका कामहरु गरिन्छ ।
५) अनलाइनमा आवेदन दिएपछि सिस्टमले नै विभागको कार्यालयमा कहिले उपस्थित हुने भनेर सूचना दिन्छ । त्यसपछि फारम, आफ्नो नागरिकता र अन्य कागजातका साथमा उपस्थित हुनुपर्छ ।
६) तोकिएको कोटा नसकिएसम्म बिहान ६ बजेदेखि राति १० बजेसम्म फारम भर्न मिल्छ ।
७) परीक्षामा असफल भएको खण्डमा ९० दिनसम्म अर्को फारम भर्न पाइँदैन ।