बैंक अफ काठमाण्डूका सीइओलाई कारवाही, संकटमा बैंक
काठमाडौं – बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तलाई राष्ट्रिय सूचना आयोगले कारवाही गरेको छ। सूचनाको हक अन्तर्गत सूचना माग गर्दा सूचना दिन अटेर गरेको भन्दै आयोगले पन्तलाई कारवाही गरेको हो ।
आयोगले उनलाई कारवाही स्वरुप दश हजार रुपैंयाँ जरिवाना माग गरेको छ । जुम्लाका नागरिक अंगराज भारतीले बैंकसँग विपन्न बर्गमा गरिएको लगानी बारेको सूचना माग गरेका थिए । उनलाई बैंकले सूुचना नदिएपछि आयोगमा पुनरावेदन निवेदन पेश गरेका थिए । निवेदनको सुनुवाई गर्दै प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङ्ग, सूचना आयुक्त कमला ओली थापा र सूचना आयुक्त रत्नप्रसाद मैनालीको पुस २ गते बसेको संयुक्त इजलासले बैंक अफ काठमाण्डू र त्यहाँका प्रमख कार्यकारी अधिकृत (सीईओ) पन्तलाई कारवाही स्वरुप दश हजार रुपैंयाँ जरिवाना गरेको हो ।
- सूचना आयोगको निर्णय
उक्त इजलासले पन्तलाई नागरिकको संविधान प्रदत्त मौलिक हकको प्रचलनको लागि स्वतन्त्र आयोगबाट पटक पटक चेतावनीयुक्त आदेश जारि गर्दा पनि गैर जिम्मेवारी चरित्र प्रदर्शन गरेकाले दण्डित गर्नु पर्ने आदेश दिएको हो । आयोगले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३२ को उपदफा ५ बमोजिम जनही दश हजार रुपैंयाँ जरिवाना तिर्नु पर्ने ठहर गरेको हो ।
आयोगले निवेदकले मागेको सूचना उपलब्ध गराई दिन नेपाल राष्ट्र बैंकलाई समेत आदेश दिएको छ । आदेशमा भनिएको छ ‘बैंकसँग भएको सूचना पुनरावेदकलाई उपलब्ध गराइ दिन र यस आयोगलाई समेत जानकारी दिन नेपाल राष्ट्र बैंकलाई लेखि पठाउनु ।’
यदि सूचना नदिएमा सूचनाको हक सम्बन्धी ऐनको दफा ३३ को उपदफा २ बमोजिम सूचना उपलब्ध गराउन जति दिन ढिलाई भएको हो, त्यति दिन नै प्रति दिन २ सयको दरले कारवाही हुने चेतावनी दिएको छ । आयोगको आदेश चित्त नबुझेमा ऐनको दफा ३४ बमोजिम पन्त ३५ दिन भित्र उच्च अदालतमा पुनरावलोकनको लागि जान सक्ने छन् ।
- सूचनाक हक सम्बन्धी ऐन २०६४
कारवाही बापतको पैसा असुलीका लागि जिल्ला प्रशासन कार्यलय काठमाडौंलाई निर्देशन दिएको छ । आयोगले कारवाहीमा परेका सीइओबाट उल्लेख गरिएको जरिवाना रकम असुल गरी आयोगलाई जानकारी दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्राचारसमेत गरेको छ ।
आयोगले प्राइम बैंकका सीइओलाई पनि सोही प्रकृतिको कारवाही गरेको छ ।
संकटमा बैंक
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई सुशासनमा ध्यान दिन बारम्बार आग्रह गर्दै आएको छ । तर बैंक अफ काठमाण्डूले भने बैंक भित्रको आन्तरिक दवन्दका कारण सुशासन कायम गर्न सकेको छैन् ।
साविकको बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज भएपछि कर्मचारीको व्यवस्थापन गर्न नसक्दा बैंक संकटमा परेको हो । बैंकका कर्मचारीले सीइओको निर्देशनलाई अटेरी गरेका कारण बैंकले उल्लेख्य उपलब्धी हाँसिल गर्न सकिरहेको छैन् । र सुशासनमा निकै कमजोर देखिएको छ ।
त्यही कारण एक हप्ताभित्र दिन पर्ने सूचना एक बर्षसम्म पनि नदिएपछि बैंकलाई आयोगले कारवाही गरेको हो । सूचना माग गर्ने नागरिकलाई मात्र होइन सूचना आयोगलाई समेत सूचना नदिएपछि कारवाही गरिएको आयोगले जनाएको छ । यो घटनाले पनि बैंक सुशासनमा कति कमजोर छ भन्ने आँकलन गर्न सकिन्छ ।
- बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्त
सीइओले आफू मातहतका कर्मचारीलाई काम लगाउन नसकेका कारण बैंक संकटग्रत अवस्थामा प्रबेश गरेको छ । राष्ट्र बैंकको निर्देशन नमान्नेको, मौद्धिक नीति कार्यन्वयनमा वेवास्था गरेको, सुशासन कायम गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकले बारम्बार सचेत गराएको छ ।
जती सचेत गराउँदा पनि अटेरी गरेपछि नेपाल राष्ट्र बैंकले आफ्नो एक बैठकमा बैंक अफ काठमाडौं संकटग्रत अबस्थामा प्रबेश गरेको भन्दैछलफल भएको थियो । नेपाल राष्ट्र बैंकले टेकओभर गर्नेकी भनेरसमेत छलफल चलाएको थियो । पछि बैंकको बोर्डले आफूहरु समस्या समाधान गर्न सक्षम भएको व्यवहोराको जानकारी राष्ट्र बैंकलाई गराएपछि राष्ट्र बैंक पछि हटेको थियो ।
बैंकको उक्त समस्या अहिले पनि जस्ताको त्यस्तै छ ।


