सर्‍यो नेकपा (प्रचण्ड–माधव समूह)को केन्द्रीय समिति बैठक, शीर्ष नेता छलफलमा

सोमबार, १९ माघ २०७७

काठमाडौं – नेकपा (प्रचण्ड–माधव समूह)को केन्द्रीय समितिको बैठक सरेको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा समसामयिक विषयमा छलफल हुने नेताहरु बताउँछन् । प्रचण्ड–माधव समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ । संसद विघटनको विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

बैठकअघि पार्टीका शीर्ष नेताहरुको बैठक यतिबेला पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको छ । कार्यालय सचिव श्रीराम ढकालका अनुसार आजको केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्नका लागि नेताहरु बीच छलफल भइरहेको छ ।