किन सर्यो प्रचण्डविरुद्ध मुद्धाको पेशी ?
काठमाडौं –नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर भएको अदालतको अवहेलनाको मुद्धाको पेशी सरेको छ । मंगलबार न्यायाधीश डा.मनोज शर्माको एकल इजलासमा पेशी तोकिएपनि बेञ्च बस्न नपाएपछि पेशी सरेको हो । दाहालविरुद्ध अधिवक्ता समिर हायुले सोमबार अदालतको अवहेलनाको मुद्धा सर्वोच्चमा दायर गरेका थिए ।
गत शुक्रबार विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दा दाहालले भनेका थिए, ‘सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौँ । हामीलाई अदालतप्रति विश्वास छ तर पनि जनताको अदालत नै ठूलो हो । सारा देशले सुने हुन्छ ।’
प्रधानमन्त्री केपी ओलीलगायत चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्धको अवेहलनाको मुद्दा पनि शर्माकै इजलासबाट सुनुवाइ भएको हो । शर्माको इजलासले प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीशहरु र पूर्वसभामुखलाई सात दिनभित्र लिखित जवाफसहित अदालतमा आफैँ उपस्थित हुन आदेश दिएको थियो ।