हतौडा प्रहारबाट श्रीमतीको हत्या
काठमाडौं – बल्खुको सुकुम्बासी बस्ती श्रीमानले श्रीमतीको हत्या गरेको पाइएको छ । श्रीमान् सन्तोष सापकोटाले सन्तोषी श्रेष्ठ सापकोटाको हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यापछि गहना लुटेर भागेको पाइएको छ । सामान्य विवादका क्रममा भएको झगडामा हतौडा प्रहार गरी श्रीमतीको हत्या गरेपछि गहना लुटेको पाइएको हो ।
हत्यापछि मृतकको हातको बाला, दुईवटा मुन्द्रा, २३ हजार रुपैयाँ नगद र आइफोन समेत लिएर भागेको प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले बताए । सिंहका अनुसार सन्तोष लागूऔषध दुर्व्यसनी समेत हुन् ।
नियमित लागूऔषध सेवन गर्नुपर्ने व्यक्तिलाई पैसाको अभाव भएकाले उनले हत्यापछि श्रीमतीको गहना लुटेको हुन सक्ने भनिएको छ । प्रहरीसँग दिएको बयानका क्रममा उनले श्रीमती सन्तोषीले पनि आफूले चिथोरेको र जवाफमा हतौडाले हानेको बताएका छन् ।
सोमबार साँझ बल्खुस्थित सकुम्बासी बस्तीमा बोरामा हालेर फालिएको अवस्थामा महिलाको शव भेटिएको थियो । रगतले लत्पतिएको बोरा देखेर स्थानीयले खबर गरेपछि अनुसन्धान थालेको प्रहरीले शव सन्तोषीको भएको पत्ता लगाएको थियो ।
श्रीमती हत्या आरोपमा पक्राउ परेका श्रीमान् सन्तोष सापकोटा। तस्वीरस् आर्यन धिमालरअनलाइनखबर
अनुसन्धानबाट सन्तोषले कोठामा श्रीमतीको हत्या गरेपछि तन्नामा पोको पारेर बोरामा शव फ्यालेको पाइएको प्रहरी वृत्त, कालिमाटीका डीएसपी अपिलराज बोहोराले बताए । उनका अनुसार उनी सुत्ने घरमै हत्यामा प्रयोग भएको हतौडा, रगताम्ये सिरक, मृतकको जुत्ता, लागूऔषध डाइजेपामको फुटेको सिसा लगायत बरामद भएको छ ।
‘श्रीमान्–श्रीमतीबीच लामो समयदेखि झगडा हुने गरेको पाइएको छ’, बोहोराले अनलाइनखबरसँग भने, ‘सोमबार जोरपाटीस्थित माइतीबाट घर गएका बेला घटना भएको हो ।’ बोहोराका अनुसार सन्तोषीले बल्खुस्थित एक सहकारीमा डेढ लाख रुपैयाँ ऋण लिएकी थिइन् । त्यसको किस्ता बुझाउन गएका बेला घटना भएको पाइएको छ ।
सन्तोषीको शवको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम भइरहेको छ ।