आफ्नै साथीको हत्या गर्न ४ युवा पक्राउ
रुपन्देही – आफ्नै साथीको हत्या अभियोगमा ४ युवा पक्राउ परेका छन् । बिहीबार साँझ शव भेटिएका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ९ का घनश्याम कोइरीको उनकै साथीहरूबाट हत्या भएको प्रहरीले जनाएको छ ।
२ चैतदेखि बेपत्ता रहेका कोइरीको शव बिहीबार अपराह्न रुपन्देहीको ओमसतिया गाउँपालिका–४ पर्सौनीस्थित परासी भैरहवा सडकदेखि उत्तरतर्फ शिव्वन यादवको गहुँखेतमा फेला परेको थियो ।
प्रहरीले अनुसन्धान गर्दै जाँदा शुक्रबार बिहान हत्यामा संलग्न चार युवा पक्राउ परेका हुन् ।पक्राउ परेका चारैजनाले हत्या स्विकारेका छन् ।
प्रहरीले कोइरीको हत्या आरोपमा सिद्धार्थनगर नगरपालिका– ९ का १९ वर्षीय रहेमान अली, २६ वर्षीय सुनील गुरुङ, २८ वर्षीय मुख्तार पठान र सिनपा– १२ का २१ वर्षीय धर्मराज अहिरलाई पक्राउ गरेको छ । पक्राउ परेका चारैजनाले प्रारम्भिक बयानका क्रममा हत्यामा संलग्न रहेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए ।
मृतकका परिवार तथा पक्राउ परेका युवाहरूसँगको सोधपुछबाट हत्या हुनुको कारण रिसिइबी र लागुऔषध दुव्र्यसन रहेको प्रहरीले जनाएको छ ।