ओलीले गरे माधव नेपाल र भीम रावललाई ६ महिना निलम्बन, थप कडा कारबाही गर्ने चेतावनी

सोमबार, १६ चैत्र २०७७

काठमाडौं – नेकपा एमालेले बरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम रावललाई कारवाही गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार पत्र पठाउँदै नेपाल र रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका हुन् । यसअघि एमालेले नेता नेपाल, रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी विधान विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधेको थियो ।

सो स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै अध्यक्ष ओलीले नेताहरूमाथि कारवाही गरेका हुन् ।

यो बीचमा पनि पार्टी गतिविधि कायमै राखेमा निलम्बनको अवधि बीचमा नै थप कारवाही गर्न सकिने चेतावनी दिइएको छ ।

नेता नेपाल र रावलले स्पष्टीकरणको जवाफमा प्रतिप्रश्न गर्दै ओली स्वयं पार्टी विधि, विधान र संविधानको खिलाफमा गएकाले ओली कारवाहीको भागीदार किन नबन्ने भनेर प्रश्न गरेका थिए ।