ओलीको सरकार अब धेरै दिन टिक्दैन : प्रचण्ड
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अबको केही दिनमै नयाँ सरकार गठन हुने बताएका छन् ।
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार धेरै दिन नरहने पनि प्रचण्डले दाबी गरेका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद् बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै आफूहरु जनतालाई दुस्ख नदिइकन, आन्दोलन नगरिकन नयाँ सरकार गठनको प्रयासमा रहेको बताए ।
उनले मुलुकमा अझै सेटिङ रहेको र अराजकताको कालो बादल मच्चिइरहेको तर्क गरे । उनले आफूहरुले नयाँ सरकार बनाएर यसलाई सच्याउन लागेको र त्यो सम्भव नभएर नयाँ विद्रोहमा मुलुक जाने संकेत गरे ।
त्यस्तै उनले संविधानलाई पूर्ण रुपमा कार्यन्वयन गर्न र बनेका ऐनहरूले काम गराउन पनि नयाँ सरकारको आवश्यक परेको बताए। ‘हाम्रो विचार र भावना मिलेको थियो। त्यसलाई विछोड गराइयो। मिलेकालाई जर्बजस्त डिभोर्स गराइएको छ। हामी त्यसलाई पुनर्मिलन गर्न चाहान्छौं। हामी फेरि राष्ट्रिय एकता बलियो बनाउन,’ उनले भने, ‘यदित त्यसो हुन सकेन भने फेरि एकपटक आन्दोलनमा जानुको विकल्प छैन। संविधान कार्यन्वयन र रक्षाको लागि पनि नयाँ विद्रोह आवश्यक पर्छ।’