प्रेरक प्रसंग : आफ्नो कामको लागि आफै तयार हुनुपर्दछ

सोमबार, २० असोज २०८२

काठमाडौं – हामीले यो कुरा विर्सनु हुँदैन कि हामीहरू सानो, ठूलो कुनै पनि कामको लागि हरबखत तयारी अवस्थामा रहनुपर्दछ । कुनै पनि अवसर प्राप्त गर्न प्रतीक्षामा बसिएको हुन्छ तर त्यो अवसर आफूले थाहै नपाउने गरी गुमेको हुन्छ । लड्न बल छैन तर पनि यतिसम्म पनि लाग्छ की आफ्नो इच्छा पुरा गरेरै छाड्छ ।

आफ्नो कामको लागि अरू कसैले पनि हामीलाई बन्दोबस्त गरिदिनेवाला छैन यस संसारमा । आफूलाई जे को आवश्यकता पर्दछ त्यो आफैले तयारी गर्नेतर्फ लाग्नुपर्दछ । यसै सन्दर्भमा यो एउटा सानो प्रसंग पढिहालौं ।

एक पटक एउटा साह्रै सुन्दर केटा विवाहको लागि केटी खोज्न आउँदैछ भने कुरा साह्रा गाउँभरी हल्ला चल्यो। त्यो केटा सुन्दर मात्र हैन अति धनी छ अरे भन्ने कुरा पनि सबैको कानमा गयो । तर त्यो केटा दिउँसमा धेरै मान्छेले आफूलाई रोक्छन्, डिस्टर्व गर्छन् भनेर रातीमा केटी हेर्न आउँदै थियो । यो कुरा केटीहरूका बुवा–आमालाई पनि थाहा भयो । त्यसपछि जो जसका छोरीहरू १५–१६ वर्ष पुगेका विवाह गर्न उमेर पुगेका छन् उनीहरुलाई एउटै घरमा जम्मा गर्ने निर्णय भयो ।

त्यो गाउँका सबै केटीहरू जम्मा गर्दा बाह्रवटी भए उनीहरूको जिउडाल सर्लक्क परेका र राम्रा थिए । तर त्यहाँ एउय सर्त के थियो भने त्यो धनी केटा ती केटीहरुलाई हेर्न जाने बेलामा केटीहरू बाहेक त्यो घरमा कोही पनि हुन हुदैन्थ्यो। अतः सबैजना मिलेर केटीहरुलाई एउटै घरमा राखी दिए र आफूहरू घर–घर गए । त्यस केटाले मन पराएको खण्डमा १२ वटा केटीलाई विवाह गर्न पनि सक्थ्यो। तर उसलाई केटी मन पर्नु पर्यो। उसले १२ वटा त के १०० वटा केटी पनि पाल्न सक्दथ्यो । उसलाई धनसम्पत्तिको कत्ति पनि चिन्ता थिएन।

। उता घर घरमा सुत्न भनेर गएका केटीहरूका बाबु आमा ढुक–ढुक भएका छन् । सबैको मनमा मेरी छोरीलाई त्यो केटाले मन पराइदिए हुन्थ्यो भन्ने चिन्ता छ। कतिले छोरीले कुन कपडा लगाएकी छ भनेर पनि आफू–आफू कुरा गर्थे । त्यो रातो फराक लगाउन भनेको भए हुन्थ्यो नि भनेर एउटाको घरमा गुनासो चल्छ भने नाकमा के लगएकी छ भनेर अर्काको घरमा गुनासो चल्छ। त्यस्तै सबैको घरमा आ–आफ्नै गुनासाहरू चलिरहन्छन्।

उता १२ वटा केटीहरू प्रत्येक खाटमा आ–आफ्ना टुकी बत्ति बालेर त्यो केटालाई पीर्खीरहेका छन् । उनीहरू सबैको मन ढुकढुक भइरहेको छ। रातको ९ बजिसक्यो केटा अझै पनि आएन । केटीहरूलाई त्यो रात निन्द्रा कत्ति पनि लागेको थिएन । १२ पनि बजिसक्यो तर केटो अझै आएन । ६ जना केटीहरूले बालेको बत्तीमा तेल सकियो र उनीहरूबो बत्ती पनि निभ्यो । त्यसपछि उनीहरू सुते । तर ६ जना केटीहरूले भने कुनै दुःख, कष्ट नमानी केटालाई पर्खि नै रहे।

यदि केटाले मनपरायो भने उनीहरू जत्तिको भाग्यमानी कोही पनि हुन सक्दैन्थ्यो । ती केटीहरूको सोचाइ पनि यस्तै थियो । तेल सकिएका केटीहरू एक निन्द्रा पुयाएर पनि ब्युझीसके तर केटो अझै आएन । सुतेर उठेका केटीहरूले पनि अब केटाको प्रतीक्षा गर्न थाले । यदि आज एकरात उसलाई पर्खदैमा विवाह भइहाल्यो भने त हामी पनि जिन्दगीमा भग्यमानी हुन सक्छौं नि सुतेर उठेका केटीहरूले एक आपसमा छलफल गर्न थाले ।

बाँकी ६ जनाको वत्ति ठूलाठूला छन् । उनीहरूको तेल सकिने कुरै छैन । उनीहरू आँखा पनि झिमिक्क नगरी केटालाई पर्खिरहेका छन् । बाहिर गोठमा भैसीले घाँस खाँदाको आवाज सुन्दा पनि उनीहरूलाई त्यही केटो नै आए झै लाग्छ। विचरा केटीहरूले साहै दःख नै पाए। रातीको २ बज्यो सुतेर उठेका केटीहरू मुख धोएर चिटिक्क परे । उनीहरूले साथीसँग तेल सापटी मागे । तर उनीहरूले दिएनन् । किनभने त्यो केटालाई आकर्षित गर्नको लागि आ–आफ्ना एउटा बत्ती हुनै पर्दथ्यो।

ती केटीहरुले तेल सापटी नदिएपछि उनीहरू त्यही राती २ बजे नै आ–आफ्नो घरमा तेल लिन गए। उनीहरू ढोका खोलेर बाहिर जानासाथ टुपुक्क त्यो केटा त्यही घरभित्र आयो। ऊ घर भित्र पसेपछि घरको ढोका लगाइयो। सबै केटीहरूको मुहार सुन्दरताले धपक्क बलेको थियो । केटाले सबैलाई एक–एक गरेर हेर्यो । उसले सबैलाई मन परायो र ती ६ जनालाई नै भोली पल्ट जन्ती लिएर आएर विवाह गर्ने बाचा गरेर त्यही रात घर फक्र्यो । ती केटीहरू हुनसम्म खुशी भए । साँच्चै आफ्नो जीवनलाई सुख सम्पन्न बनाउन सक्ने धनी केटासँग विवाह गर्न पाए ।

विचरा तेल लिन गएका केटीहरू तेल लिएर आउँदा त केटो गइसकेको कुरा थाहा पाए । उनीहरू बडो दुःखी भए। उज्यालो भयो। कसैका अभिभावक खुशी भए भने कसैका दुःखी भए । भव्य तरिकाले विवाह सम्पन्न भयो । तर ती ६ जना केटीहरूलाई विवाह हेर्न जान पनि मन लागेन । उनीहरू अति दुःखी भए। यदि तेल लिन जान नपरेको भए आफूले पनि विवाह गर्न पाउने कुरा गर्दै दिन बिताउँदै गर्न थाले।

अतः बन्धुहरू हामी कुनै पनि बेला तयारी अवस्थामा रहनुपर्दछ । अवसर भनेको कुनै पनि बेला आउन सक्दछ । तर हामी जागा रहनुपर्दछ । कुनै बेला अल्छी मानेर एकछीन को लागि त होनी भनेर ढिला गरियो भने त्यही बेलामा मुख्य कुरा छुट्न सक्छ। जसरी ती केटीहरूले पहिला तेल सकिने वित्तिकै तेल लिएर आएको भए उनीहरूलाई पनि अति राम्रो हुन्थ्यो तर तेल लिएर आएर बत्ति बाल्नुको सट्टा सुते । तर पछि तेल लिन जाँदा आफ्नो जीवनको ठूलो अवसर गुमाए । ती अवसर गुमाउने केटीहरू अर्का ६ वटा भन्दा झन चिटिक्क राम्री थिए तर राम्री भएर के गर्ने केटाले देख्नै पाएन । अतः जीवनमा कुनै पनि मुख्य कुरा यस्तै तरिकाले वा अन्य कुनै तरिकाले छुट्न सक्दछ। तर कतिबेला भन्ने कुरा थाहा हुँदैन त्यसैले जागा रहौं जागा।