काठमाडौं उपत्यकामा बिहानैबाट निषेधाज्ञा, के गर्न पाइन्छ, के पाइँदैन ? उल्लंघन गरे के सजायँ हुन्छ ?
काठमाडौं– काठमाडौं उपत्यकामा आज विहानबाट निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको हो ।
मन्त्रिपरिषद्को बैठकले कोरोनाको चेन ब्रेक गर्न कम्तिमा दुई साता निषेधाज्ञा लगाउने निर्णय गरेको थियो। त्यहिअनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश दिएका हुन्।
निषेधाज्ञाको समयमा यात्रायातका साधान बन्द भएका छन्। अत्यावश्यक परेका बाहेक अन्यलाई जथाभावी हिडडुल गर्न पनि रोक लगाइएको छ।
उल्लंघन गरे के सजाय हुन्छ ?
निषेधाज्ञा उल्लंघन गरे कानुनबमोजिम कारबाही हुने छ । संक्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ ।
संक्रामक रोग ऐनमा काममा बाधा पुयाउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुवै सजायको समेत व्यवस्था छ ।
यसैगरी स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय दिन सक्ने अधिकारको व्यवस्था गरिएको छ ।
के गर्न पाइन्छ, के पाइँदैन ?
खाद्यान्न र औषधि पसलबाहेक सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनाटर, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न निषेधाज्ञा अवधिभर रोक लगाइएको छ । शैक्षिक संस्था पनि बन्द रहेका छन्।
विवाह, व्रतबन्ध र अन्तिम संस्कार गर्न भने छुट दिइएको छ। विवाहमा पनि १५ जनाभन्दा बढी सहभागी हुन पाइनेछैन।
विवाहमा दुई वटासम्म गाडी प्रयोग गर्न पाइनेछ। त्यसमा विवाह भनेर लेखिएको ब्यानर राख्नुपर्नेछ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा बढीमा दुई कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका सवारीसाधन सञ्चालन गर्न पाइने छ ।
एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, कुरिअर एवम् डाँक सेवा, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायत ढुवानी तथा यातायतका साधनमा सञ्चालन गर्न पाइने छ ।
अस्पताल आउने–जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रूपमा सहभागी हुनुपर्ने अवस्थाका व्यक्तिहरुलाई पनि प्रमुख जिल्ला अधिकारीले दिएको पासका आधारमा गाडी प्रयोग गर्न पाइने छ ।
पत्रकारहरुको हकमा सूचना विभागले जारी गरेको प्रेस पासका आधारमा आउ–जाउ गर्न दिइने छ ।
बैंक तथा वित्तीय संस्था, बिमा एवम् राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारीसाधन सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने छ ।