अक्सिजन अभावले १ सय ५ जना विरामीको ज्यान जोखिममा

बिहिबार, ३० बैशाख २०७८

काठमाडौँ – काठमाण्डौको ट्रमा सेन्टरमा अक्सिजन अभाव हुँदा एक सय ५ जना विरामीको ज्यान जोखिममा परेको छ ।

ट्रमा सेन्टरका निर्देशक सन्तोष पौडेल र कोरोना व्यवस्थापन समितिका सदस्य भुवन केसीले रातभरि विभिन्न ठाउँमा गएर अक्सिजनको जोहो गर्ने प्रयास गर्दापनि प्रयास असफल भएपछि बिरामीको ज्यान जोखिममा परेको हो ।

‘हामीले रातभरि विभिन्न ठाउँमा गएर एम्बुलेन्समार्फत अक्सिजन जोहो गर्ने प्रयास गर्यौँ तर कतै पनि पाइएन हामीकहाँ रहेका एक सय ५ जना बिरामी जोखिममा हुनहुुन्छ’, कोरोना व्यवस्थापन समितिका सदस्य भुवन केसीले भने ।

ट्रमा सेन्टरले अक्सिजन ल्याउने शंकर अक्सिजन उद्योग बालाजुमा रातभरी कुर्दा पनि अक्सिजन पाउन नसकिएको उनको भनाई छ । भर्ना भएका एक सय ५ जनालाई नै हाइ फ्लो अक्सिजन दिनुपर्नेमा अहिले न्यूनतम मात्रामा दिएर राखिएको र आठ बजेपछि ठप्पै हुने अवस्था रहेको उनले बताए ।

ट्रमा सेन्टरमा दैनिक चार सय सिलिण्डर अक्सिजन चाहिनेमा सीसीएमसीले १ सय ५० वटाको कोटा तोकिदिएको र एक सय ५० वटा सिलिण्डर पाउन पनि मुस्किल रहेको केसीको भनाई छ ।