असफलताबाट नडराउनु

शुक्रबार, २५ बैशाख २०८३

काठमाडौं– कुनै पनि कार्यमा महाहस्ती बन्न असफल नभई अगाडि बढ्न सकिन्न । उत्कृष्ट परिणाम प्राप्तिका लागि तपाईले ठक्कर अवश्य पनि खानुहुनेछ । असफल हुन कोही पनि चाहन्नन् तर सफल हुनका लागि असफलतासँग डराउन हुन्न ।

असफलताले नै सफलताको रहस्य खुलाउँछ र सफलताले नै आत्मविश्वास बढाउँछ । तपाई जति असफल हुनुभयो, त्यति नै बढी ज्ञान प्राप्त गर्न सक्नुहुनेछ । के गर्दा काम बन्छ र के गर्दा बन्दैन भनेर जान्नुहुन्छ । उत्कृष्टता हासिल गर्ने तरिका जति बढी थाहा पाउनुहुन्छ, उति नै तपाईँको ज्ञान बढ्दै जान्छ र यसले तपाईँमा आत्मविश्वास बढ्छ । जति धेरै प्रगति गर्दै जानुहुन्छ, उति नै तपाईँको आफूमाथिको विश्वास कसैले पनि तोड्न सक्दैन ।

१८ पटक सर्वोकृष्ट लेखक बनेका सेठ गोडिनले सर्वोत्कृष्ट किताबहरु निकाल्नुअघि १० वर्ष बुक प्याकेजरको रुपमा काम गरे, हरेक महिना एउटा किताब निकाले, १ सय २० वटा किताब निकाले जसमा धेरैजसो किताबले राम्रो बजार पाउन सकेन ।

यसले उनलाई पाठकमाझ कस्तो किताब लाने भन्नेबारे धेरै कुरा सिकाउन मद्दत गर्यो । त्यस्तै, जेम्स डाइसनले खर्बौ डलर लगानीको भ्याकुम कम्पनी सञ्चालनमा ल्याउनुअघि १५ वर्षसम्म उनले ५ हजार नमुनामा काम गरेका थिए ।

उनका अनुसार हरेक असफलताले उनलाई समाधानको नजिक पुर्याउँदै लग्यो । आफू जस्तो स्थानमा भएपनि तपाईँ आत्मविश्वासी बन्न सक्नुहुनेछ । यसमा आफुमा उत्कृष्ट हुनका लागि आफूमा विकास गर्नुपर्ने कार्यक्षमताको पहिचान गर्न सक्नुपर्छ । त्यसपछि यसका लागि आवश्यक कार्य निरन्तर निर्वाह गर्नुपर्छ । आफुमा सिपको विकास हुँदै गएपछि, तपाईँको आत्मविश्वास पनि बढ्दै जान्छ र सफल मानिसको रुपमा तपाईँले अरुमा प्रभाव पार्न सक्नुहुन्छ ।