डाक्टर र नर्स कुटपिट गर्नेलाई राष्ट्रपतिको संरक्षण

शुक्रबार, १४ जेष्ठ २०७८

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले भेरी अस्पताल नेपालगन्जमा घटेको घटनाका दोषीलाई उन्मुक्ति दिनुपर्ने आशय व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ भन्दै उन्मुक्ति दिनपर्ने खालको आशय व्यक्त गरेकी हुन् ।

उनले आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड १९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको भन्दै आवेशमा घटेको घटनालाई संयमित भएर सुल्झाउन आग्रह गरेकी हुन् । नेकपा एमाले दाङ जिल्ला समिति सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्यसमेत रहेका मृतकका भाइ मानबहादुर रावत संलग्न भएपछि राष्ट्रपतिले संरक्षण गर्नुपर्ने आशयको धारण राखेकी हुन् ।

बिहीबार बेलाका नेपालगन्जको भेरी अस्पतालमा डाक्टरको लापरबाहीका कारण आफन्तको मृत्यु भएको भन्दै नेकपा एमाले (ओली गुट) का नेता रावतसहितको समूहले डाक्टर र नर्समाथि कुटपिट गरेका थिए ।  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनीसहित ४/५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेपछि १ तला माथिबाट हाम फालेर ज्यान जोगाएका थिए ।