एमसीसीका लागि ९ अर्ब बजेट विनियोजन

आइतबार, १६ जेष्ठ २०७८

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का लागि ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ । सरकारले आफ्नै स्रोतबाट १ अर्ब १ करोड र अमेरिकी सरकारको अनुदानबाट ८ अर्ब ९ करोड रुपैयाँ खर्च गर्ने गरी रकम विनियोजन गरेको हो ।

अमेरिकी सहयोगमा सञ्चालन हुन लागेको प्रसारणलाइन आयोजना व्यवस्थापन तथा सञ्चालन गर्न स्थापना भएको मिलिनियम च्यालेन्ज एकाउन्ट नेपालका लागि उक्त रकम विनियोजन गरिएको हो ।

चालु आर्थिक वर्षमा पनि सरकारले बजेटमा यो कार्यक्रम कार्यान्वयन गर्न १० अर्बभन्दा बढी बजेट विनियोजन गरेको थियो । त्यसमध्ये आगामी असारसम्म ५ अर्ब १५ करोड ६३ लाख खर्च हुने अनुमान छ ।

चालु वर्षमा विनियोजन भएकोमध्ये नुवाकोटको रातमाटेमा ३८५ रोपनी जग्गा किन्न करिब १ अर्ब ३५ करोड मात्रै खर्च भएको छ । त्यसबाहेक कार्यालय र कर्मचारी व्यवस्थापनमा पनि खर्च भएको छ । खर्ब गर्न नसकेर ८ अर्ब रुपैयाँभन्दा बढी बजेट फ्रिज हुने अवस्थामा छ ।

संसद नभएको अवस्थामा एमसीसीलाई अघि बढाउन सरकारसँग दुईवटा विकल्प छन् । पहिलो, सम्झौता पुनरावलोकनसहित संशोधन वा पूरक सम्झौता गर्नु हो । दोस्रो, विकल्प भनेको एमसीसीको सम्झौता कार्यान्वयन गर्न अध्यादेश ल्याउने हो ।

मन्त्रिपरिषद बैठकले गत वैशाख ९ गते यो आयोजनालाई आवश्यक बजेट अभाव हुन नदिने निर्णय गरेको थियो । एमसीसी परियोजनाबारे नेपालमा दुई वर्षदेखि राजनीतिक विवाद कायम छ । जसका कारण संसदमा पेश भएको अमेरिका र नेपालबीचको एमसीसीको सम्झौता अझै पारित हुन सकेको छैन ।